भदौ ३१, नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकहरू नुवाकोटका विभिन्न १८ वटा होल्डिङ सेन्टरमा १ हजार १८५ जना बाढी प्रभावितले आश्रय लिइरहेका छन्।
होल्डिङ सेन्टरमा रहेका प्रभावितमध्ये ५७९ जना पुरुष र ६०६ जना महिला रहेका छन्। बाढीका कारण घर गुमाएका तथा बस्ती जोखिममा परेपछि स्थानीयवासीलाई तत्काल सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
प्रभावितहरूका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाको समन्वयमा अस्थायी बसोबास, खाद्यान्न, खानेपानी र स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ।
बाढी गएको २१ दिन बितिसक्दा पनि विस्थापित जीवन बिताउनुपर्ने अवस्था आउन सक्ने भन्दै प्रभावित परिवारहरू चिन्तित देखिएको सदरमुकाम विदुरस्थित होल्डिङ सेन्टरमा बस्दै आईरहेका एक बाढी पिडित बताउँछन् ।
भोटेकोशी-त्रिशूलीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । स्थानीय तह र प्रशासनबाट राहत, उद्धार तथा पुनःस्थापनाका कार्यहरू जारी रहेका छन्।