दिलबहादुर (डीबी) लामा नेपाली प्रशासनिक र राजनीतिक क्षेत्रका साथै प्रजातन्त्रिक आन्दोलनका प्रखर सेनानीको रुपमा चिनिएका एक सशक्त व्यक्ति हुन् । विषेशत नेपाल प्रहरीको ११ औं प्रहरी महानिरीक्षकको रूपमा उनलाई नचिन्ने सायदै कोही होलान् । उनी दोस्रो विश्वयुद्धमा वर्मामा लडेका सैनिक हुन् भने त्यसै समयमा नेपालमा राणा विरोधी प्रजातन्त्रका लागि आन्दोलनमा संघर्ष गरेका प्राजातन्त्रत्रका सेनानी पनि थिए । उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित समेत भएर जनप्रतिनिधिको रुपमा देशको सेवा गरेका राजनीतिज्ञ समेत हुन् । लामा ब्रिटिस आर्मीमा भर्ती भएर विश्वयुद्ध लडेका तथा वि.सं २००७ सालको क्रान्तिको स्वतन्त्र सेनानी, नेपाल प्रहरीमा प्रवेश गरी आइ.जी.पी समेत भएर जेल जीवन विताए र रिहा भएपछि सांसद् र मन्त्री समेत भएका सायदै पहिलो नेपाली पनि हुन् । यसकारण पनि डिबि लामाको परिचय कुनै एक आयामबाट मात्र गरेर पुग्दैन । लामाका जीवनका उतार चढाव तत्कालीन परिवर्तनको गतिमा हिडेको नेपाली राजनीतिक, सामाजिक र ऐतिहासिक घटनाक्रमसँग प्रत्यक्ष जोडिएको छ भन्दा फरक पर्दैन । यसकारण पनि लामाको जीवनको संघर्ष, योगदान र जीवनी एउटा महत्वपूर्ण ऐतिहासिक पक्षलाई वहन गर्दै अघि बढेको थियो भन्दा फरक पर्दैन । तर यहाँ खासगरी उनको प्रशासनिक र राजनीतिक जीवनका केही पक्षहरुलाई समावेश गर्नमात्र सम्भव देखिन्छ । स्वर्गीय दिलबहादुर (डी.बी) लामाको जन्म वि.सं १९८७ मा पिता ललितमान लामा (घले) र आमा दुर्गादेवी लामाको माहिलो सुपुत्रको रूपमा नुवाकोट जिल्लाको गेर्खु गाउँमा भएको थियो । उनी तत्कालीन समयमा गाउँको आर्थिक रुपमा सम्पन्न र राजनीतिक सामाजिक सुझबुझ भएको तामाङ परिवारमा जन्मिएकाले बाल्यकालमा राजधानी काठमाडौंमा डेरा गरी पढ्थे ।
काठमाडौंमा प्रारम्भिक शिक्षा हासिल गर्दै गर्दा साथीभाईको सङगतमा अंग्रेजी साम्राज्य सेनाको पञ्जावको होशियारपुरस्थित ब्वाइज कम्पनीमा तालिम लिइ विदेशी सेनामा भर्ती भए र दोस्रो विश्वयुद्धताका बर्मामा भएको युद्धमा भाग लिएर अनुभव समेत प्राप्त गरे । दोस्रो विश्वयुद्धपछि बेलायतको उपनिवेशबाट एसियाका धेरै देशहरु स्वतन्त्र हुने क्रममा सन् १९४७ मा भारत र पछि बर्मा स्वतन्त्र भयो । यो घटनाले त्यसबेला स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको भावना पनि एकतन्त्रीय निरङ्कुश जहानियाँ राणाशासन हटाउने तर्फ केन्द्रीत हुँदै गयो । तेतीबेलाका धेरै नेपाली फौजीहरु कोही ब्रिटिस र कोहीले बर्मा आर्मीमै निरन्तरता दिए । तर विदेशी सेना छाडेर नेपालकै स्वतन्त्रता र प्रजातन्त्रको लागि एउटा योद्धाको रुपमा सहभागी हुन नेपाल फर्कीए । विदेशी फौजमा निरन्तर रहेर काम गरेका लामा सधैं विदेशमा रहनुभन्दा मातृभूमिप्रतिको प्रेम र देशभक्तिको भावनाले नेपालमा फर्किएर आन्दोलनको एक स्वतन्त्र सेनानी बने । देश र प्रजातन्त्रको लागि निर्णायक युद्ध लड्ने समय भइसकेको थियो । वि.सं २००७ साल कार्तिक २७ गेत गोरु तिहारको साइतमा रक्सौल पुग्ने हिसाबले लामा सहितको टोली पटनाबाट हतियार सहित प्रस्थान ग¥यो । जनमुक्ति सेनाले नेपाली कांग्रेसको चिन्ह चार तारा अंकित पट्टी बाँधेर विभिन्न टोलीहरुमा विभाजित गरी जिम्मेवारी तोकिएको थियो । रातको १० बजे जनमुक्ति सेनाले वीरगञ्ज शहरलाई चारैतिरबाट धावा बोलेको थियो । जनमुक्ति सेनाले वीरगञ्ज, ठोरी, परवानीपुर, झण्डीनगर, बहादुरगञ्ज लगायतका क्षेत्रमा आक्रमण गर्ने ताथा कब्जा जमाउन सफल भएको थियो । जनमुक्ति सेनाले दन्काएको सशस्त्र क्रान्तिको ज्वाला काठमाडौं बाहेक सारा नेपालमा सल्किन सफल भएको थियो । वि.सं २००७ साल फागुन ४ गते राजा त्रिभुवन भारतको दिल्लीबाट स्वदेश फर्किएपछि प्रजातन्त्र स्थापना भएको समाचार रेडियोबाट प्रसारण गरिएको थियो र फागुन ७ गते मोहन शम्शेरको प्रधानमन्त्रित्वमा राणा र कांग्रेसको संयुक्त सरकार गठन भएको थियो । संयुक्त सरकारमा गृहमन्त्री विश्वेश्वरप्रसाद कोइराला बने । देशमा प्रजातन्त्र ल्याउनका निम्ति स्थापना भएको जनमुक्ति सेनालाई सुम्पेको कार्य सफलतापूर्वक सम्पन्न गरेकाले क्रान्तिको प्रतीकको रुपमा स्थापित गर्दै फागुन २८ गतेबसेको संयुक्त सरकार, राणा र कांग्रेसको बैठकमा जनमुक्ति सेनालाई रक्षादलमा परिणत गरी तीनवटा बटालियनको एक ब्रिगेड बनाई देशको अर्ध सैनिक बलको रुपमा राख्ने बीपीको धारणा सर्वसम्मतले पास भयो ।
राणा शासाशनविरुद्ध विभिन्न मोर्चामा सक्रिय डिबि लामा त्यसबेलाको मुक्ति सेनाबाट नेपालको रक्षादल ब्रिगेड हुँदै वि.सं २००७ फागुन २८ गते नेपाल पुलिस फोर्सको सशस्त्र बटालियनको सुबेदार पदमा परिणत भएका थिए । वि.सं २०१२ सालमा प्रहरी ऐन जारी भयो । त्यसपछि नेपालको विभिन्न क्षेत्रमा विभिन्न पदको जिम्मेवारी सम्हाल्दै लामा नेपाल प्रहरीको महानिरीक्षक जस्तो उच्चतम पदमा पुगे । उनी वि.सं २०३९ असारदेखि २०४३ जेठसम्म नेपाल प्रहरीको महानिरीक्षक पदमा कार्यरत रहेका थिए । पछि उनी भूतपूर्व प्रहरी संगठनका चौंथो अध्यक्ष भए । उनकै कार्यकालमा २०४३ सालमा नेपाल प्रहरीमा महिला जनशक्तिका लागि खुला प्रतिस्पर्धाबाट भर्ना लिन थालिएको हो । त्यसअघिसम्म प्रहरीमा महिलालाई खुला प्रतिस्पर्धाबाट भर्ना लिइदैंन थियो । ट्राफिक प्रहरीमा महिला सहभागिता लामाकै कार्यकालमा सुरु भएको थियो । प्रहरी परिवार महिला संघ पनि उनकै कार्यकालमा स्थापना गरिएको थियो । सुगममा कार्यरत जनशक्तिलाई दुर्गम र दुर्गममा कार्यरतलाई सुगममा सरुवा गर्न विशेषगरी लामाकै कार्यकालमा थालिएको थियो । संगठननमा कार्यरत जनशक्तिले सुगम र दुर्गम दुवै क्षेत्रको अनुभव बटुल्नुपर्ने धारणा उनमा थियो । लामाको कार्यकालमा नेपालभरका विभिन्न आपराधिक घटना र गतिविधिहरू सबै तहका कर्मचारीहरूलाई जानकारी दिन मासिक रूपमा ‘प्रहरी बुलेटिन’ प्रकाशन गराई निशुल्क वितरण गर्ने प्रणाली बसालियो । त्यस्तै, उनको कार्यकालमा नेपाल प्रहरीबाट वर्षभरि भए गरेका गतिविधिलाई जनसमक्ष ल्याउन ‘प्रहरी दर्पण’ (पुलिस मिरर) नामक म्यागजिन अंग्रेजी र नेपाली दुबै भाषामा प्रकाश गर्ने व्यवस्था भयो । वि.सं २०२९ सालतिर ललितपुर जिल्ला अन्तर्गत फुलचोकी सिमसार स्टोरमा खटिएका दुईजना पालेहरुको निर्ममतापूर्व हत्या हुनुका साथै त्यहाँ स्टोरमा रहेको ३५ हजार थान जिलेटिन समेत चोरी हुन गएको थियो । यो गम्भीर घटनाको अनुसन्धान गरी दोषिलाई सजाय दिई निर्दोषलाई छुटाउन अनुसन्धान सफल पारेकोमा राजा वीरेन्द्रबाट मध्यमाञ्चल क्षेत्रीय भ्रमणको सिलसिलामा चार ग्रेड थप गरिएको र सो कुरा राजपत्रमा समेत उल्लेख भएको थियो । नेपाल प्रहरी प्रमुख आइ.जीपीको पदमा रहँदा संगठनभित्रका प्रशासनिक र आर्थिक क्षेत्रमा सुधार, प्रहरी कर्मचारीहरुको मनोवल अभिवृद्धि गर्ने र प्रहरीको सीप विकाससम्बन्धी प्राविधिक पक्षमा लामाले धेरै महत्वपूर्ण कार्य गरेका थिए । उनले वि.सं २०४३ साल असार ३१ गते महानिरीक्षकको पदबाट अवकास पाएका थिए ।
प्रहरी सङ्गठनको आधुनिकीकरण र सक्षम नेतृत्व प्रदानमा स्वर्गीय लामाको योगदान जति छ, त्यति नै उनी विवादित पनि रहे । वि.सं २०३६ सालमा धनकुटाको छिन्ताङमा प्रहरी दमन गरी १५ जनाको हत्या प्रकरणमा लामा विवादमा तानिएका थिए । उनी साधारण लेखपढमात्रै भएका प्रहरी अधिकारी भए पनि पञ्चायती प्रधानमन्त्री तुल्सी गिरी र तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको सिफारिसमा आईजीपी बन्न सफल भएका थिए । २०४३ साल जेठमा सेवाबाट अवकाश पाएका लामा त्यसको केही महिनापछि नै सुन तस्करीको अभियोगमा पक्राउ परेका थिए । राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर गुरुङ २२ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । त्यस घटनाका मुख्य योजनाकार लामा भएको आरोप लाग्दै आएको छ । उनीसँगै तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहका अंगरक्षक (प्रमुख सेनानी) भरत गुरुङ पनि लामासँगै समातिए । सोही अभियोगमा लामा र गुरुङ करिब ५ वर्षसम्म जेल बसे । जेलमा लामालाई धेरै यातना र केरकार गरिएको कुराहरु बाहिर आए । उनले लेखेको पुस्तकमा पनि आफूप्रति राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरी चरम यातना दिइएको र आफ्ना परिवारलाई समेत यातना दिइएको कुरा उल्लेख गरेका छन् । पछि अदालतले प्रमाण नपुगेको भन्दै लामालाई सफाइ दियो । आफूमाथि दरबारले प्रतिशोध लिन सुन तस्करीको अभियोगमा फसाएको स्पष्टोक्ति दिँदै लामा नेपाली कांग्रेस पार्टीको कार्यालयमा पुगी सभापति एवं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गरे । उनको अनुरोधलाई स्वीकार गरी एक समारोह नै आयोजना गरेर सभापति कोइरालाले नेपाली कांग्रेसको एक सक्रिय सदस्यको प्रमाण पत्र प्रदान गरे । त्यसपछि डिबि लामा आफ्नो जिल्ला नुवाकोट गई कांग्रेसको संगठन विस्तारमा पुनः सक्रिय भए । वि.सं २०५६ को आम चुनावमा नेपाली कांग्रेसको तर्फबाट रसुवा जिल्लामा उम्मेदवारको टिकट पाएपछि उनी निर्वाचनमा विजयी पनि भए । प्रतिनिधिसभाको संसद् भएपछि तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीकालमा मन्त्रिमण्डलमा सामान्य प्रशासन सहायकमन्त्रीको जिम्मेवारी पाएका थिए । स्वर्गीय लामा नेपाली कांग्रेस महासमिति सदस्यसमेत थिए ।





















प्रतिक्रिया