११ पुस, नुवाकोट । त्रिशूली अस्पतालले आकस्मिक प्रतिकार्यसम्बन्धि कृत्रिम घटना अभ्यास प्रदर्शन गरेको छ । अस्पतालले आकस्मिक प्रतिकार्य क्षमताको अभिवृद्धि गर्ने उद्देश्यसहित कृत्रिम घटना अभ्यास (मक ड्रिल) सम्पन्न गरेको हो ।
अस्पतालको वार्षिक कार्ययोजनाअन्तर्गत सञ्चालन गरिएको उक्त अभ्यासमा जिल्लामा बस दुर्घटना भएको परिदृश्य सिर्जना गरी घाइतेहरूको उद्धार, उपचार र व्यवस्थापन प्रक्रिया अभ्यास गरिएको अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष उपेन्द्र बुढाथाेकीले बताए ।
अभ्यासका क्रममा दुर्घटनामा परेका घाइतेहरूको अवस्थाअनुसार त्रियाज प्रणाली अपनाइ रातो (गम्भीर), पहेंलो (मध्यम) र हरियो (सामान्य) श्रेणीमा वर्गीकरण गर्दै तत्काल उद्धार र उपचार प्रक्रिया अगाडि बढाइएको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए । यसले आपतकालीन अवस्थामा बिरामीलाई प्राथमिकताका आधारमा सेवा दिन अस्पतालको तयारी अवस्था परीक्षण गर्न सहयोग पुर्याएको उनले बताए ।
उनले आकस्मिक अवस्थामा अस्पतालमा उपलब्ध मानव जनशक्ति, उपकरण र स्रोतसाधनको प्रभावकारी परिचालनका साथै विभिन्न विभागीय चिकित्सक, स्वास्थ्यकर्मी तथा एम्बुलेन्सकर्मीहरूको भूमिकाबारे पुनर्ताजगी गराउने उद्देश्यले अभ्यास सञ्चालन गरिएको जानकारी दिए।
अभ्यासले सम्भावित विपद्को समयमा समन्वय, तत्परता र सेवाको गुणस्तर अझ सुदृढ हुने अस्पतालले विश्वास लिएको छ।









प्रतिक्रिया