जेठ २, विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले आर्थिक वर्ष २०८२/८३ को जेठ महिनामा सम्पादन गरेका विभिन्न प्रशासनिक तथा सेवा प्रवाहसम्बन्धी कार्यहरूको मासिक विवरण सार्वजनिक गरेको छ।
कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा महिनामा राहदानी दस्तुर, नागरिकता वितरण, र राष्ट्रिय परिचय पत्र व्यवस्थापन लगायतका क्षेत्रमा उल्लेख्य कार्यहरू भएका छन्।
सो अवधिमा वंशजका आधारमा एक हजार २८० जनालाई नयाँ नागरिकता र ७५५ जनाले प्रतिलिपि नागरिकता वितरण गरिएको छ ।
राहदानी शाखातर्फ ७४८ वटा राहदानी आवेदन फारम संकलन गरिएको र सोही अवधिमा ५९४ वटा राहदानी सर्वसाधारणलाई वितरण गरिएको कार्यालयले जनाएको छ।
पछिल्लो समय सरकारले अनिवार्य गरेको राष्ट्रिय परिचय पत्र दुई हजार ४९८ जनाको व्यक्तिगत विवरण संकलन गरिएको छ भने ४४६ वटा तयारी राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ।
जेठ महिनामा कार्यालयले विभिन्न शीर्षकहरूबाट कुल ४० लाख भन्दा बढी राजस्व संकलन भएको छ। राहदानी दस्तुर वापत मात्रै ३९ लाख ७० हजार रुपैयाँ, एजेन्सी रजिष्ट्रेशन दस्तुरबाट २७ हजार ७५० रुपैयाँ, प्रशासनिक दण्ड जरिवानाबाट १ हजार रुपैयाँ र हातहतियार इजाजत दस्तुरबाट १ सय रुपैयाँ राजस्व खातामा जम्मा भएको छ।

प्रतिक्रिया