१५ मङ्सिर, नुवाकोट । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । शनिबार भएको संस्थाको नवौँ अधिवेशनको निर्वाचनको मत गणनाको अन्तिम नजिता आज सोमबार नतिजा घोषणा भएको हो ।
नतिजाअनुसार सञ्जिवबहादुर श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका हुन् । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा श्रेष्ठ संस्थाको नेतृत्व अर्थात् अध्यक्ष पदमा पुन: श्रेष्ठ विजय भएका छन् । उनले १ हजार ३७० मत प्राप्त गरेका छन् ।
अध्यक्षमा निर्वाचित श्रेष्ठ सचिव पद (२०७३) मा निर्वाचित हुदैँ उपाध्यक्ष (२०७६) र अध्यक्षमा २०७९ मा पहिलोपटक निर्वाचित भएका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार हरिशरण गजुरेलले ७३७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार भनिएतापनि गजुरेलको प्यानललाई नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राप्रपाको समर्थन थियो ।
संस्थाको उपाध्यक्षमा स्वतन्त्रबाट उपाध्यक्षका उम्मेदवार राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । उनले १ हजार ६१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नविन प्रधानले ९६९ मत प्राप्त गरेका छन् ।
यसैगरी सचिव पदमा रघुनाथ रिमाल १ हजार ६१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अच्चुतराज महन्त गिरीले ९२२ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्ष पदमा अम्बिका चित्रकार खनाल १ हजार १६७ मतसहित विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार संगीता कोइरालाले ८२५ मत प्राप्त गरेकी छिन् ।
महिला सदस्यतर्फ बिन्दाकुमारी सडौला र सिता अधिकारीले निर्वाचित भएका छन् ।
यसैगरी सदस्य पदमा शंकर पाण्डे, दिपक कुमार तिमिल्सिना र गोबिन्दबहादुर अधिकारी निर्वाचित भएका छन्।
कुल मतदाता ३ हजार ६६५ रहेकोमा २ हजार ३४६ खसेको थियो । जसमा १०१ मत बदर भएको थियो ।



















प्रतिक्रिया