+
Search

ताजा अपडेट +

पपुलर +

भोटेकोसी-त्रिशूली बाढी प्रभावित तीन जिल्लालाई पूर्वाधार डिभिजन कार्यालय सञ्चालन

डबली खबर
३३ मिनेट अगाडी

मङ्सिर ९, नुवाकोट । भोटेकोशी-त्रिशूली बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा पूर्वाधार विकासका योजना कार्यान्वयन गर्न सदरमुकाम विदुरमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ।

नुवाकोटसहित रसुवा र धादिङ जिल्लालाई सेवा क्षेत्र बनाई सञ्चालनमा आएको यस कार्यालयका डिभिजन प्रमुख सचिन्द्रकुमार यादवले जानकारी दिएका छन्। बाढीले क्षति पुगेका सडक सञ्जाल, पक्की तथा झोलुङ्गे पुलको पुनर्निर्माण र नवनिर्माणका साथै स्थानीय आवश्यकताका आधारमा थप योजनाहरू कार्यालयमार्फत अघि बढाइने उनले बताए।

बाढीले क्षति पुगेका संरचनाको पुनर्निर्माणसहित राष्ट्रिय प्राथमिकता प्राप्त सडक सञ्जालको विकास र स्तरोन्नति, पक्की तथा झोलुङ्गे पुल, स्थानीय तहका केन्द्र, सेवा केन्द्र र महत्वपूर्ण बस्ती जोड्ने सडक, रणनीतिक कृषि सडक, वैकल्पिक सहायक राजमार्ग तथा पर्यटकीय पदमार्ग निर्माणका योजना तर्जुमा गरी आवश्यक बजेट सुनिश्चित गर्दै कार्यालय सञ्चालनमा आएको उनले बताए । बाढीले क्षति पुगेका १५ वटा ग्रामीण सडकको पुनर्निर्माणसहित ५० वटा योजना कार्यान्वयन गर्न अख्तियारी प्राप्त भएको उनले जानकारी दिए ।

कार्यालय सञ्चालनसँगै तीन जिल्लामा १२ वटा वैकल्पिक सहायक राजमार्ग, चार वटा सडक पुल, एक झोलुङ्गे पुल तथा स्थानीय तहका केन्द्र जोड्ने ११ वटा सडक विस्तार र स्तरोन्नति कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ। सडक सुरक्षा, मर्मतसम्भार र पूर्वाधार विकासका लागि थप सात वटा योजना तत्काल कार्यान्वयनमा ल्याउने तयारी भइरहेको पनि उनले जानकारी दिए।

क्षेत्रीय तथा प्रादेशिक सन्तुलन कायम गर्दै गुणस्तरीय, वातावरणमैत्री, दिगो र उत्थानशील पूर्वाधार विकासमार्फत विद्यमान असमानता घटाउने उद्देश्यसहित सङ्घीय सरकारले गत असोज १३ गते देशभर २१ वटा डिभिजन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो।

तीनै तहका सरकारबीच समन्वय बढाई विकासको प्रतिफल विपन्न वर्गसम्म पुर्‍याउने र जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित मन्त्रिपरिषद्ले जिल्ला तहमा यस्ता कार्यालय विस्तार थालेको हो।

कार्यालयले आवश्यकता पहिचान, प्राथमिकता निर्धारण, सम्भाव्यता अध्ययन, सर्वेक्षण, विस्तृत परियोजना प्रतिवेदन, डिजाइन, लागत अनुमान तथा गुणस्तर परीक्षणजस्ता सेवा प्रवाह गर्नेछ।

बजेट तथा कार्यक्रमसहित प्राप्त जिम्मेवारीअनुसार रसुवा, नुवाकोट र धादिङमा योजना कार्यान्वयन अघि बढेको डिभिजन प्रमुख यादवको भनाइ छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ