+
Search

ताजा अपडेट +

पपुलर +

बाढीको ९३ दिन: बेपत्ता परिवारले अझै पाएनन् सरकारी राहत

डबली खबर
४ मिनेट अगाडी

मङ्सिर १०, नुवाकोट । भोटेकोशी–त्रिशूली नदीमा लेदोसहित आएको विनाशकारी बाढीको ९३ दिन पुग्दा पनि अधिकांश पीडित परिवारले सरकारी राहत र क्षतिपूर्ति पाउन सकेका छैनन्। गत भदौ १० गते आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। तीन महिना बितिसक्दा पनि बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूले सरकारी निकायबाट पर्याप्त राहत नपाएको गुनासो गरेका छन्।

प्रचलित कानुनमा बेपत्तालाई १२ वर्षपछि मात्र मृतक घोषणा गर्न सकिने व्यवस्था रहेकाले सरकारले असोज २३ गते अध्यादेश जारी गरी ४५ दिनसम्म फेला नपरेका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने बाटो खोलेको थियो।

गृह मन्त्रालयले सोमबार सबै जिल्ला प्रशासनलाई स्थानीय तहमार्फत शीघ्र राहत उपलब्ध गराउन निर्देशन दिएको अधिकारीहरूले बताएका छन्।

स्थानीय तहको सिफारिसपछि जिल्ला विपद् व्यवस्थापन समिति हुँदै प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने कार्यकारी परिषद्ले स्वीकृत गरेपछि मृत्यु दर्ता र राहत वितरण हुने प्रक्रिया छ। मापदण्डअनुसार मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ र एकै परिवारका थप मृतक भएमा प्रतिव्यक्ति एक लाख थप दिइने व्यवस्था छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा ५१ जिल्लाका ३ हजार ३०५ नागरिक बेपत्ता छन् भने १९ देशका ६२३ विदेशी नागरिक पनि बेपत्ता छन्। हालसम्म १ हजार ४६४ शव संकलन भएकामा १ हजार ३४४ वटा डीएनए परीक्षणका लागि सुरक्षित राखिएको छ र ११२ वटा परिवारलाई हस्तान्तरण गरिएको छ। बाढीबाट करिब ७ हजार घर पूर्ण रूपमा ध्वस्त भएको अनुमान छ।

बाढीबाट विस्थापित रसुवा, नुवाकोट, धादिङ र काठमाडौंका ७४५ घरधुरीका २ हजार ५८३ जना अझै अस्थायी शिविर तथा होल्डिङ सेन्टरमा बस्न बाध्य छन्। अस्थायी आवास अनुदानका लागि केही स्थानीय तहले लाभग्राही पहिचान गरे पनि हालसम्म सरकारी रकम प्रभावित क्षेत्रमा नपुगेको प्राधिकरणका अधिकारीहरूले स्वीकार गरेका छन्।

प्राधिकरणका अनुसार विभिन्न संघसंस्थाको सहयोगमा ११ हजार ४२५ घरधुरीलाई करिब २९ करोड ६२ लाख रुपैयाँ वितरण भएको छ भने सरकारी कोषबाट खोज, उद्धार र राहत सामग्रीमा ३७ करोड रुपैयाँ खर्च भइसकेको छ।

बाढीपछि सरकारी राहत कोषमा १८ अर्ब ४७ करोडभन्दा बढी रकम जम्मा भएको छ। गैरसरकारी संस्थाहरूबाट करिब ९५ करोड रुपैयाँ सहयोग आएको प्राधिकरणले जनाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ