+
Search

ताजा अपडेट +

पपुलर +

भलिबल सङ्घको अध्यक्षमा श्रेष्ठ

सुनील श्रेष्ठ
७ मिनेट अगाडी

मङ्सिर ८, विदुर । नुवाकोट जिल्ला भलिबल सङ्घको छैठौँ अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ।

अधिवेशनबाट अध्यक्षमा बबिन श्रेष्ठ चयन भएका छन्। उनको अध्यक्षता ११ सदस्यीय कार्यसमिति गठन भएको हो ।

सङ्घको उपाध्यक्षमा विक्रम थापा र पाल्देन लामा, सचिवमा दीपकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा राजकुमार शाही निर्वाचित भएका छन्।

सदस्यमा उत्सव थापा, शैलेन्द्र शाह, रूपा श्रेष्ठ, कुन्जन नेपाली, भेषबहादुर पाण्डे र सरोज श्रेष्ठ चयन भएका छन्।

अधिवेशनमा नेपाल भलिबल सङ्घका उपाध्यक्ष गौतमप्रसाद लासिवा प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले अधिवेशनमा सम्बोधन गर्दै आफूलाई विश्वास गरेर जिम्मेवारी सुम्पिएका अग्रज, कार्यसमिति सदस्य, पालिकास्तरीय संघका प्रतिनिधि, खेलाडी र भलिबलप्रेमीप्रति आभार व्यक्त गरे। उनले पदलाई व्यक्तिगत उपलब्धि नभई जिल्लाको भलिबल विकासका लागि महत्त्वपूर्ण जिम्मेवारीका रूपमा लिएको बताए।

श्रेष्ठले भने, “पद प्राप्त गर्नु ठूलो उपलब्धि होइन, जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै सकारात्मक परिणाम दिनु नै वास्तविक सफलता हो।”

उनले विगतका अग्रजहरूको योगदानलाई सम्मान गर्दै ग्रामीण क्षेत्रका प्रतिभावान् खेलाडी पहिचान गर्न स्थानीय निकायसँग समन्वय गर्ने र प्रतियोगिता सञ्चालनमा जोड दिने प्रतिबद्धता जनाए।

उनले सङ्घलाई पारदर्शी, उत्तरदायी र सबैको साझा संस्था बनाउने तथा सामूहिक प्रयासबाट नुवाकोटको भलिबललाई अझ उचाइमा पुर्‍याउने लक्ष्य राखेको उल्लेख गरे।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ