९ मङ्सिर, विदुर । एघारौँ उद्योग दिवसको अवसरमा नुवाकोट जिल्लाका छ उद्यमीहरु सम्मानित भएका छन् ।
उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले उद्योग दिवसरका अवसरमा जिल्लाका ६ उद्यमीहरुलाई प्रोत्साहनस्वरुप सम्मान गरेको कार्यालय प्रमुख सिताराम घिमिरेले जानकारी दिए ।
कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत जिल्लाका उद्योगहरुलाई थप प्रोत्साहन गर्नका लागि उद्योगीहरुलाई सम्मान गरिएको घिमिरेको भनाइ छ । जिल्लाका हस्तकला, माछापालन, प्रशिक्षण, कृषि, पोल्ट्रीलगायतका उद्योगहरु सम्मानित भएका हुन् ।
विदुर नगरपालिकाका ३ जना उद्यमीहरु सम्मानित भएका छन् । दुप्चेश्वर गाउँपालिका, लिखु गाउँपालिका र बेलकोटगढी नगरपालिकाका १/१ जना उद्यमीहरु सम्मानित भएका छन्।
सम्मानित हुनेमा विनपा-९ स्थित आशापुञ्ज कृषि केन्द्रका हरिबहादुर बस्नेत, विनपा-४ स्थित जलापदेवी हस्तकला उद्योगकी गीता ढकाल थापा र शुभलक्ष्मी प्रशिक्षण केन्द्रकी लक्ष्मीकुमारी प्रधान रहेका छन् ।
यसैगरी दुप्चेश्वर गापा-१ स्थित सुर्यकुण्ड ट्राउट माछाफर्मका नन्दलाल तामाङ, लिखु गापा-१ स्थित हराभरा कृषि फर्मका ईबकुमार ढकाल र बेलकोटगढी नपा-५ स्थित लामिछाने पोल्ट्री फर्मका पुरुषोत्तम लामिछाने सम्मानित भएका छन् ।
कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले विदेशमा गएर श्रम बेच्नुभन्दा स्वदेशको माटोमै उत्पादन गर्न सहज भएको र विदेशमा गएर पैसा कमाउन सहज नभएको तर्क दिए ।
कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघ नुवाकोटको अध्यक्षमा रामकृष्ण राजभण्डारी, विभिन्न उद्योमीहरुले उद्योग दिवस दिवसमा मात्रै सीमित नभई उत्पादनमा आधारित हुनुपर्नेमा जोड दिएका थिए ।
उद्योग दिवसकै अवसरमा कार्यालय परिसरमा मङ्सिर ९ र भोलि १० गते दुई दिन उद्यम प्रदर्शनी सञ्चालन गरिएको कार्यालयका सूचना अधिकारी मेखामाया तामाङ घलेले जानकारी दिईन् ।
प्रदर्शनी जिल्लास्थित २५ वटा उद्यमीहरुले उत्पादन गरेको कृषि उपज, अचार, हस्तकला, आरन लगायतका सामग्री प्रदर्शनी तथा बिक्री वितरणमा छ।



















प्रतिक्रिया