१४ कात्तिक, नुवाकोट । विदुर खानेपानी तथा सरसफाइ उपभाेक्ता संस्थाले आफ्नो दशौं साधारणसभा तथा नवौं अधिवेशनको तयारी थालेको छ । संस्थाले तयारी स्वरूप आज विदुरमा आयोजित सरोकारवालाहरूसँग महत्वपूर्ण बैठक बोलाएको हो ।
संस्थाको नयाँ नेतृत्व चयनलाई लिएर विगतमा विदुर नगरपालिकाको ‘मिनी निर्वाचन’ का रूपमा हेरिने चुनावी प्रतिस्पर्धालाई यसपटक देशको वर्तमान परिस्थिति र संस्थाको विशुद्ध सेवाभाव लाई प्राथमिकता दिँदै सर्वसम्मत बनाउने प्रयास गरिएको संस्थाका अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठले बताए ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलगायत स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थितिमा बसेको बैठकले संस्थालाई दलगत राजनीतिभन्दा माथि उठाएर लैजाने विषयमा जोड दिएको छ ।
बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रामेश्वर गजुरेल, नेकपा एमालेका सचिव शिवकुमार चित्रकार, नेकपा माओवादी विदुर नगर कमिटीका अध्यक्ष भोजराज पनेरुलगायतले संस्थाले विदुर नगरपालिका क्षेत्रका केहि वडाका उपभोक्ताहरू खानेपानी सेवा दिई रहेकोले उनीहरुको हक, हित र निरन्तर खानेपानी दिलाउने नेतृत्व चयनमा राजनीतिक दलहरूले समेत सेवाभावमा केन्द्रित हुने सहमत देखाएका छन् ।
उपभ क्ताहरूलाई स्वच्छ खानेपानी सेवा प्रदान गर्ने मूल लक्ष्यबाट विचलित नभई सहमति र सहकार्यका माध्यमबाट नेतृत्व चयन गर्न सबै सरोकारवालाहरू सहमत भएको जनाइएको छ । अधिवेशनको मिति नजिकिँदै गर्दा यस उच्चस्तरीय बैठकले सर्वसम्मत नेतृत्व चयनका लागि बाटो खुला गरेको विश्वास गरिएको छ ।
यद्यपि संस्थाका पदाधिकारी र सदस्यहरुको समयावधि गत भदौ २४ गतेनै सकिएको थियो । संस्थाको विद्यानअनुसार आसन्न निर्वाचन सम्पन्न गर्न तीन महिना म्याद थप गरिएको विदुर खानेपानी तथा सरसफाइ उपभाेक्ता संस्थाको कार्यालयका प्रमुख राजकुमार तिमिल्सिनाले बताए ।

प्रतिक्रिया