१ असार, नुवाकोट । ककनी गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको घोषणा गरिएको छ।
गाउँपालिकाले चार वर्षदेखि १३ वर्षसम्मका सबै बालबालिकाका लागि शिक्षा पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित समावेशी र गुणस्तरीय शिक्षालाई प्रवर्द्धन गर्न यो घोषणा गरेको हो।
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले शिक्षा सबै नागरिकको अधिकार भएकाले यसको कार्यान्वयन सुनिश्चित गर्नु आवश्यक रहेको बताए ।
संघीय संसदको कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले अनिवार्य शिक्षाबिना समानताको कल्पना गर्न नसकिने भन्दै व्यवहारिक कार्यान्वयनको महत्त्व जोड दिईन् ।
जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख रामचन्द्र इटनिले विद्यालय अनुगमन, शिक्षकको भूमिका, अभिभावकको सचेतना तथा स्थानीय सरकारको प्रतिबद्धता अनिवार्य शिक्षाको सफलताको मुख्य आधार हुने बताए ।
ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले आर्थिक विपन्न परिवारका बालबालिकालाई विद्यालयमा भर्ना गर्न, निःशुल्क पाठ्यपुस्तक, पोशाक तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउने योजना रहेको जानकारी दिए ।
यस घोषणाले स्थानीय बालबालिकाका लागि शिक्षा पहुँच बढाउने तथा शिक्षा क्षेत्रको सशक्तीकरणमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया