५ फागुन, नुवाकोट । शिवपुरी गाउँपालिका वडा नं. ६ फेदीगाउँको खोंचमा दुईटा साना झरनाको बीचमा निर्माणाधीन बुद्धपार्क पर्यटकीय तथा धार्मिक आस्थाको केन्द्र बन्दै गईरहेको छ ।
दुई झरनाकोबीच निर्माण भएको पार्कमा पाँच फिट उचाईं भएको बुद्धको मूर्ति राखिएको छ। पार्क काठमाडौंको सामाखुसीबाट चौकी भञ्ज्याङसम्म १३ किलोमिटर दुरीमा रहेको छ। चौकी भञ्ज्याङबाट ६ किलोमिटर ओरालो हुँदै बुद्धपार्क पुग्न सकिन्छ ।
बुद्धको देश नेपालमा बुद्ध वाणीलाई व्यवहारिक जीवनमा लागू गर्न प्रेरित गर्ने उद्धेश्यले बुद्धपार्क निर्माण गरिएको टोखाका सम्पदा अभियन्ता मनिराज डङ्गोलले बताए । दुई वडाको सङ्गममा डङ्गोलले व्यक्तिगत लगानीमा पार्क बनाई दिएका हुन् । पार्कसहित त्रिवेणीधामको अवधारणाअनुरुप पोखरी निर्माण कार्यअघि बढेको छ ।
पार्कले फेदिगाउँ र समग्र वडाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने ६ नम्बरका वडा अध्यक्ष विष्णु श्रेष्ठले बताए । एक दिने पदमार्गको लागि उपर्युक्त ठहर खोलेगाउँपछि फेदीगाउँ पनि आकर्षक बन्न सफल हुने उनले बताए ।

६ नम्बरका वडा सदस्य तथा राष्ट्रिय रेस्लर खेलाडी कमल लामा (नुवाकोटे टाईगर)ले भने, ‘बुद्धपार्क नजिकै ५ मिनेटमै दुरीमा मयूरपार्क छ । यो क्षेत्र शान्त, शितल र आनन्दित छ ।’ बुद्धपार्क सिमानामा बनाईयता पनि सम्पदा अभियन्ता डङ्गोलले आफ्नै जग्गामा मयुरपार्क बनाएको बताए । समृद्ध पालिका बनाउने अभियानलाई यस किसिमको कार्यले पर्यटन र आर्थिक क्षेत्रको साथै वडाबासीको जीवनस्तर उकासिने उनले बताए ।

हाइकिङ विज्ञ रामदेवी महर्जन भन्छिन् ‘यो हाइकिङको लागि रमणीय र सुन्दर छ ।’ गत साता प्रकृतिप्रेमी समूहका एक सय जनाभन्दा बढीको समूह लिएर आएकी महर्जनले हाइकिङ र जैविक खाद्यले मानिसको स्वास्थ्य समेत राम्रो हुने बताईन् ।
बुद्धपार्कबाट करिब १ किलोमिटर दुरीमा रहेको बाह्रै महिना बहने टुनी झरना मनमोहक छ। अग्लो झरनालाई नजिकबाट चुमेर फर्कन सकिन्छ । त्यहाँबाट मानेडाँडा हुँदै खोलेगाउँ पुग्न सकिन्छ।
विदाको दिन हाइकिङ, धार्मिक, प्रकृति र स्वास्थ्यमा चाख राख्ने जोकोहीले पनि सो पार्क पुग्न सकिने ६ नम्बरका वडा सदस्य लामाले बताए ।
प्रतिक्रिया