+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकार महासङ्घद्वारा प्रेस स्वतन्त्रता सङ्कुचन रोक्न माग

डबली खबर
५५ सेकेण्ड अगाडी

मङ्सिर ८, नुवाकोट । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि साझा धारणा बनाउन नेपाल पत्रकार महासङ्घले काभ्रेको धुलिखेलमा आयोजना गरेको सरोकारवाला सम्मेलन तथा बैठक सम्पन्न भएको छ।

मंसिर ५ र ६ गते भएको उक्त कार्यक्रममा महासङ्घका पदाधिकारी, पूर्वअध्यक्षहरू, विभिन्न सञ्चारमाध्यमका सम्पादक, नेपाल बार एसोसिएसनका प्रतिनिधि, कानुन व्यवसायी, प्रेससम्बद्ध सङ्घ–सङ्गठनका प्रतिनिधि र सरोकारवालाहरू सहभागी थिए।

सम्मेलनले प्रेस स्वतन्त्रता, लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, मानव अधिकार, विधिको शासन, सूचनाको संकुचन र सञ्चार कानुनलगायत विषयमा गहन छलफल गरेर १६ बुँदे प्रस्ताव पारित गरेको छ। महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिअनुसार प्रस्तावहरूमा संविधान र प्रचलित कानुनद्वारा प्रत्याभूत मौलिक तथा कानुनी हकको प्रयोग संकुचित हुँदै गएको भन्दै सरकारलाई त्यस्ता कार्य रोकी संविधानको अक्षरशः पालना गर्न माग गरिएको छ।

सम्मेलनले प्रेस काउन्सिल अध्यादेश फिर्ता लिई मिडिया काउन्सिल विधेयकलगायत सञ्चार कानुनहरू सरोकारवालासँग बृहत् छलफल र सहमतिपछि मात्र विधायिकी प्रक्रियाबाट ल्याउन जोड दिएको छ। प्रेस काउन्सिल, पत्रकार र सञ्चारमाध्यममाथि सरकारी निर्देशनमा गैरकानुनी हस्तक्षेप, निर्देशन र नियन्त्रण बन्द गर्न, सूचनाको स्रोत खोल्न बाध्य पार्ने तथा केरकार, धम्की र दबाब दिने कार्य तत्काल रोक्न माग गरिएको छ।

समाचार कक्षमा प्रहरी प्रवेश, सवारी अवरोध, पत्रकार पक्राउ तथा मोबाइल, ल्यापटप र क्यामेरा नियन्त्रणमा लिई तथ्याङ्क मेटाउने रवैया अन्त्य गर्न पनि प्रस्तावमा जोड दिइएको छ। लोककल्याणकारी सुविधा र विज्ञापन संकुचनप्रति विरोध जनाउँदै प्रदेशस्तरमा दर्ता भएका सञ्चारमाध्यमको नवीकरण प्रक्रिया प्रदेश संरचनामार्फत नै सहज बनाउन माग गरिएको छ।

सरकार स्वामित्वका गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल र राससबाट बिनाकारण हटाएका पत्रकारहरूलाई पुनर्बहाली गर्न, सूचना आयोगलाई लामो समय नेतृत्वविहीन राखिएकोमा आपत्ति जनाउँदै सूचनाको हक अवरोध नगर्न सरकारको ध्यानाकर्षण गराइएको छ। न्यायपालिकामाथिको राजनीतिक हस्तक्षेप अन्त्य गर्न, बन्दी प्रत्यक्षीकरणलगायतका रिट निवेदन तत्काल दर्ता र सुनुवाइ गर्न तथा प्रेस काउन्सिलमा महासंघको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ।

डिजिटल डिभाइडको अवस्थामा निःशुल्क सूचना प्रवाह गर्ने एफएम रेडियोमाथि लगाइएको दोहोरो–तेहोरो कर प्रणाली अन्त्य गर्न र विभिन्न पेसाकर्मीको पेसागत स्वतन्त्रता संरक्षण गर्न पनि प्रस्तावले सरकारको ध्यानाकर्षण गरेको छ। पारित प्रस्तावहरूमा शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जालको समेत ऐक्यबद्धता रहेको उल्लेख छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ