विदुर, नुवाकोट – जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटको तथ्यांकअनुसार अहिलेसम्म नुवाकोटमा कोरोना संक्रमित सङ्ख्या २७ जना पुगेका छन् । उपचारपश्चात् १६ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् भने हाल ११ जना आइसोलेशनमा उपचारत रहेका छन्।
हालसम्म नुवाकोटका दुई नगरपालिकाका ४ जना र आठ गाउँपालिकाहरुका २३ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाद घिमिरेले बताए। “बाँकी तीन गाउँपालिकाहरुमा लिखु, सुर्यगढि, पञ्चकन्या र शिवपुरीमा कोरोनाको संक्रमण नदेखिएकोले ग्रीन जोनमा रहेको छ”, उनले बताए “संक्रमति नभेटिएका स्थानीय तहहरुमा पनि पिसिआर र आरटिडी परीक्षण गरिएको छ।”

तथ्यांकअनुसार विदुर नगरपालिकाका ३ जना र बेलकोटगढी नगरपालिकाका १ जनामा कोरोना सङ्क्रमण भएकोमा सबै जना कोरोनालाई जितेर घर फर्किसकेका छन्। जसमा बेलकोटगढी नगरपालिकाका १ जना कुवेतबाट आएका थिए। उनमा कोरोनाको सङ्क्रमण देखिएसँगै उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, काठमाडौंमा राखी उपचार गरिएको उनले बताए।
अहिलेसम्म जिल्लाको तारकेश्वर गाउँपालिकामा सबैभन्दा बढी सङ्ख्यामा कोरोना संक्रमित देखिएको छ । तारकेश्वरमा १२ जनामा सङ्क्रमण देखिएको तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले बताए । “सङ्क्रमित पुष्टी भएसँगै सबै बिरामीहरुलाई जिल्ला अस्पताल त्रिशुलीको आइसोलेशन वार्डमा राखी उपचार गरिएको थियो”, उनले बताए “अहिले उपचारपछि ६ जना घर फर्किसकेका छन्।”
जिल्ला अस्पतालका मेडिकल सुपरीटेण्डन रेमकुमार राईका अनुसार तारकेश्वरका बाँकी संक्रमित ६ जना अझै जिल्ला अस्पतालमा उपचारत रहेको छ । बिरामीहरुको स्वास्थ्यस्थिति सामान्य नै रहेको छ। “आइसोलेशनमा रहेका बिरामीहरुको उपचारको सहजताका लागि सिसिटिभी क्यामेराको माध्यमबाट निगरानी र फोनबाटै सरसल्लाह दिईरहेको छौं”, उनले बताए “बिरामीहरुलाई प्रत्यक्ष रुपमा उपचार आवश्यक परेको खण्डमा पनि सुरक्षिततवरले स्वास्थ्य उपचार खटिरहेका छौं । बिरामीहरुले स्वयं ज्वरो, उच्चरक्तचाप लगायतका परिक्षणको लागि डिजिटल उपकरण पनि उपलब्ध गराईएको छ।”
यस्तै, म्यागङ गाउँपालिकामा ४, दुप्चेश्वर ३, ककनी १, किस्पाङ २ र तादी गाउँपालिकाका १ जनामा कोरोना सङ्क्रमण भएको छ । संक्रमित बिरामीहरु म्यागङका १ र किस्पाङ २ जनालाई उपचारको लागि जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ।
दुप्चेश्वरका १ जना र तादीका १ जनालाई खरानीटार अस्पतालको आइसोलेशनमा उपचारको लागि राखिएको छ । यसअघि दुई महिलाहरु कोरोनामुक्त भइ घर फर्किसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया