असोज २१, नुवाकोट । ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ मा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि प्रदेश खेलकुद विकास परिषद्ले खुल्ला छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ।
आज एक सूचना सार्वजनिक गर्दै राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने जानकारी दिएको छ ।
प्रतियोगितामा क्रिकेट, बक्सिङ, जिम्न्यास्टिक, एथलेटिक्स, हकी, कबड्डी, ह्यान्डबल, सुटिङ, भारोत्तोलन, स्क्वास, बास्केटबल, कुस्ती, आर्चरी, रग्बी सेभेन–ए–साइड, लन टेनिस, ई–स्पोर्ट्स, खो–खो, सेपाकताक्रो, शारीरिक सुगठन र साइक्लिङ गरी जम्मा २० खेलमा सिधै प्रदेशस्तरीय खुल्ला छनोट प्रतियोगिता सञ्चालन गरिनेछ।
यस छनोटमा सहभागी हुन चाहने खेलाडीले तोकिएका मापदण्ड पूरा गरेको हुनुपर्नेछ। पहिलो अन्तरप्रदेश राष्ट्रिय खेलकुद–२०८० मा सहभागी खेलाडी, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ का स्वर्ण पदक विजेता हुनुपर्ने उल्लेख छ ।
यसैगरी तेस्रो बागमती प्रदेश खेलकुद–२०८३ मा प्रथम, द्वितीय वा तृतीय स्थान हासिल गरेका खेलाडी, राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, सम्बन्धित संघले आ.व. २०८२/०८३ मा आयोजना गरेको राष्ट्रिय प्रतियोगितामा स्वर्ण वा रजत पदक प्राप्त खेलाडी, संघले प्रतिभावान ठानेर सिफारिस गरेका खेलाडी तथा विभागीय टिमको करार सम्झौता अन्त्य गरी आएका खेलाडीहरूले सहभागिता जनाउन सक्नेछन्।
दर्ताका लागि इच्छुक खेलाडीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र परिषद्को वेबसाइटमा रहेको लिंकमार्फत वा सूचनामा दिइएको क्यूआर कोड स्क्यान गरी अनलाइन दर्ता गर्नुपर्नेछ।
अनलाइन दर्ताको अन्तिम २०८३ कात्तिक ९ गते कार्यालय समयसम्म तोकिएको छ।