असोज ३०, नुवाकोट । राष्ट्रिय सहकारी बैंक लिमिटेडले तीन जिल्लाका २० बाढीपीडित सहकारीलाई कम्प्युटर तथा कृषि उपकरण सामाग्री सहयोग गरेको छ।
गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा लेदोसहित आएको विनाशकारी बाढीका कारण प्रभावित भएका नुवाकोट, रसुवा र धादिङ जिल्लाका सहकारी संस्थाहरूलाई लक्षित गरी करिब २० लाख रुपैँया बराबरको बैंकले उक्त राहत सामग्री हस्तान्तरण गरिएको राष्ट्रिय सहकारी बैंक लिमिटेड नुवाकोटका प्रमुख मिलन श्रेष्ठले जानकारी दिए ।
बाढीबाट क्षति पुगेका सहकारीहरूको दैनिक प्रशासनिक तथा वित्तीय कार्य पुन: सञ्चालनमा सहजता ल्याउने उद्देश्यले बैंकले कम्प्युटर सेट (डेस्कटप, सी.पी.यू., प्रिन्टर, किबोर्ड र माउस) सहयोग स्वरूप प्रदान बैंकका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिए । नुवाकोटका १५, रसुवाका तीन र धादिङका दुई सहकारी संस्थालाई सामग्री सहयोग गरिएको बताए ।
राष्ट्रिय सहकारी बैंकका विज्ञ सञ्चालक डा. वासुदेव लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी कार्यक्रममा जिल्ला सहकारी सङ्घ नुवाकोटका अध्यक्ष शिवप्रसाद अधिकारी, पूर्वअध्यक्ष बैकुण्ठ मिश्रलगायत विभिन्न सहकारी संघ/संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले विपद्को समयमा सहकारी बैंकले पुर्याएको सहयोगको सराहना गर्दै यसले बाढी प्रभावित सहकारी संस्थाहरूलाई पुरानै लयमा फर्कन र सेवा प्रवाह सुचारु गर्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।