२०८१, १३ बैशाख बिहीबार

एसईई पुस्ता: “आफूलाई चिन”, “आफूलाई खोज’: पुरुषोत्तम लम्साल

    असार १४ २०७५ १४:४३

prosottam-lamsal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

जलविद्युत्को सेयरले तिमीलाई दिन कोही परदेशी छोरी बोकेर दैलोमा आइपुग्नेवाला छैनन्

भाइबहिनीहरू !

जेलजस्तो विद्यालय, जेलर र सुरक्षागार्डजस्ता शिक्षक र अभिभावकबाट केही दिनका लागि मुक्त भएका छौ । विद्यालयबाट निस्कँदा पिँजराबाट भुर्रभुर्र उडेको चराजस्तो अनुभव भइरहेको होला । माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सहभागी सबैलाई बराबर बधाई । बराबर किनभने धेरै जीपीए ल्याउनेलाई धेरै माया र प्रोत्साहन दिने गलत चलन छ । थोरै जीपीए ल्याउनेले परिवारको इज्जतै फालेको र समाजमा नाकै काटेको मानिन्छ । मचाहिँ उनीहरूले पाउनुपर्ने माया र प्रोत्साहनमा कसैबाट कमी हुनुहुँदैन भन्छु । त्यसैले, सबैलाई उत्तिकै हार्दिक माया, स्नेह, बधाई र शुभकामना ।

Image result for see students nepal

भाइबहिनीहरू !

म पनि मोटरबाटो पुगेको तर गाडी नपुगेको गाउँको सरकारी विद्यालयबाटै बाइस वर्षअघि एसएलसी उत्तीर्ण हुँ । पचास प्रतिशत हाराहारीको कमसल दोस्रो डिभिजन थियो मेरो । हिजो हामीलाई प्रथम, द्वितीय र तृतीय तहमा बाँडिएको थियो । स्याबासी र बधाई त्यही अनुपातमा पाउँथ्यौँ । फस्र्ट डिभिजनको पनि उपल्लो तह (असी प्रतिशत) काट्नेलाई ‘लौ अब केटोले संसार जित्छ’ भनेर फुक्र्याउँथे । साठी प्रतिशत वरपर अङ्क पाउनेले ‘यति भए नि चमत्कार गर्न सक्छ’ भन्थे । सेकेन्ड डिभिजनवालाका लागि साझा धारणा थियो, ‘साइन्समा त बिक्न सकेन नै कमर्समा पनि नबिक्लाजस्तो छ ।’ थर्ड डिभिजन भनेको पुच्छा । पुच्छा भनेको ‘बजारमा बिक्न नसक्ने छोराछोरी’ भन्थ्यो समाज । ‘आर्टस् पढेर के खाला यो तोरीलाहुरेले ?’ भन्थे मान्छे । अब अनुत्तीर्ण वा फेल नै हुनेको त कुरै नगरम् । तिनका लागि समाजमा स्थायी नारा थिए । तीचाहिँ नालायक । परिवारको दश वर्षको लगानी डुबाउने कुलङ्गार । यही गच्छेअनुसार समाजले विद्यार्थी र तिनका अभिभावकको जय गाउँथ्यो । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका मातापिताको छाती जति दिन फराकिलो हुन्थ्यो, अनुत्तीर्ण हुने विद्यार्थीका मातापिताको शिर त्यति दिन निहुरिन्थ्यो ।

भाइबहिनीहरू

आत्तिन र निराश हुनुपर्दैन । समाजले कहीँ बिक्दैन बालख नाथे आर्टस् पढेर पनि सत्र वर्षको उमेरदेखि आफ्नै बुतामा उभिनसक्ने रहेछ त । सकिन्छ । मार्कसिटमा ग्रेड राम्रो र अङ्क बढी आउँदैमा मान्छे सफल हुने होइन । मार्कसिट फगत देखाउने साधन हो, तर साध्य तिम्रो सोच, लगन, सिर्जनशीलता हो जसलाई मार्कसिटमा अङ्क दिने ठाउँ छैन । त्यसैले जो अड क्यारेक्टर (फरक तर सफल लाग्ने पात्र) हुन्छन् नि, तिनीहरूमध्ये कतिसँग सम्भवतः मार्कसिट नै हुँदैन ।

घर र समाजले राम्रो र सकारात्मक पक्षसँग तुलना गर्न नजान्दा विद्यार्थीमा हीनभावना जागृत हुन्छ÷गराउँछ । त्यसैले कोही आत्तिन पर्दैन । परिवारसँग झगडा गर्न पनि पर्दैन । भाइसाथीसँग बोलचाल बन्द गर्न पनि आवश्यक छैन । एसईई परीक्षा एकैपटक जीवन परिवर्तन गर्ने जादु होइन । अरूलाई हेरेर होइन हामीले आफैँलाई हेरेर अब उच्च शिक्षाको योजना बनाउनुपर्दछ । अब आंशिक भने पनि भोलिको लक्ष्य निर्धारण गर्दा राम्रो । इच्छाशक्ति र आत्मविश्वास जेमा छ त्यसको परख गर्न अझ समय छ ।

भाइबहिनीहरू

आफ्नो इच्छा, रुचि र चाहनाको विषयमा घरका अभिभावकसँग सल्लाह गर्ने बेला हो यो । कसैको दबाबमा नपरी अब अध्ययन गर्न सक्ने विषय छान्ने बेला । भाइसाथीको देखासिखीको प्रभावमा पर्न नहुने बेला । अरूले के भन्ला भनेर सुन्न नहुने बेला । विद्यालय शिक्षा पार गरेको विद्यार्थीले घरको थैली र भकारी, बाबुको थाप्लो र आमाको पाइतालामा बसेको डोब पनि सम्झन सकिदियो भने लाख हुन्छ । सल्लाह र परामर्शका लागि आफूले अध्ययन गरेको विद्यालयका शिक्षकहरूसँग सहयोग लिँदा राम्रो । परिवारले पनि विश्वास गरेका अग्रजहरू छन् भने उनीहरूसँग बसेर राय माग्नु पनि बुद्धिमानी हुन्छ ।

भाइबहिनीहरू !

ढुक्क भए हुन्छ, तिम्रो हाम्रो जिल्लामा अझै केही दशक समृद्धि बोकेर तीव्र गतिको चुच्चो रेल सननन गर्दै आउँदैन । न उत्तरबाट आउँछ, न दक्षिणबाट । झ्याप्पै आउला र अजिंगरको आहारा दैवले जुराएझैँ साँवाअक्षरमै सुनचरी उडाउँला भनेर कसैले नसोचे हुन्छ । हरेक दशैँ, तिहार र सङ्क्रान्तिमा घुँडाको छाला नखुइल्याई घर जान पायौँ भने अबको पाँच–सात वर्ष त्यही तिम्रो–हाम्रो भाग्य हो । दुई लेनको सग्लो सडकमा मोटरगाडी आवतजावत हुन सके भाग्य त्यहीँबाट नारिएर आउँथ्यो, चुच्चेरेलको आसमा समृद्धिको सपनान देखी अध्ययनलाई आगे बढाऊ । मातापितालाई पनि भनिदेऊ, जलविद्युत् आयोजनाको सेयरले तिमीलाई दिन कोही परदेशी छोरी बोकेर दैलोमा आइपुग्नेवाला छैनन् । न कोही सम्पन्नवाला व्यक्ति छोरोसहित हाम्री सेयरवाली चेली खोज्दै गाउँमा आउने सम्भावना नै छ । त्यसैले नपढी सुखै छैन । तर, के पढ्ने र कसरी पढ्ने भन्ने छनोटचाहिँ अहिल्यैदेखि गर्नु ।

भर्खर विद्यालय शिक्षाको खुड्किलो पूरा भएको हो । अब दर्जनौँ दश जोड दुई कक्षाका सञ्चालकले तिमीहरूलाई यस्तो र उस्तो भन्दै ‘स्किम’हरू सुनाउलान् । यस्तो व्यावसायिक र उस्तो प्रयोगशालाकेन्द्रित पनि भन्लान् । छात्रवृत्तिका कथा बुन्लान् । हाम्रो उद्देश्य चन्द्र्रमा छुने हो र हामी खगोललाई धर्तीमै झारेर अध्ययन गराउँछौँ समेत भन्लान् । ठूला बैंकका कर्मचारीका, नाम कहलिएका प्राध्यापकका, रेडियोमा सुनिने र टीभीमा देखिने अनुहारका तस्बिर झुन्ड्याएर तिमीलाई झुक्याउलान् । यस्ता प्रलोभन गाउँले थेगोजस्तै हो भनेर पत्याउनु । ईश्वरले जन्मसँगै दुईवटा कान दिएका छन्, एउटा कानबाट सुनेर अर्को कानबाट उडाउन अभ्यास थाल्नु ।

प्यारा भाइबहिनी

म पनि आठ वर्ष तिमीहरूजस्तै कलिला विद्यार्थीलाई पढाउने जागिर पकाएर हिँडेको हुँ । त्यसैले देखेको र भोगेको कुरा भन्न म धक मान्दिनँ । सपनाको व्यापार र यथार्थको बजारबीच धेरै अन्तर छ र हुन्छ । तिमीले जुनै विषय छाने पनि हामीकहाँ नयाँ परिपाटीले सिकाउने परम्परा बसिसकेको छैन । सिक्ने तिमीले हो, सिकाउने बाटो भेट्टायौ भने त्यही अचम्मको उपलब्धि हुन्छ । तिमीहरूले जित्ने महाभारत नै त्यही हो अम्मलरहित असल सङ्गत र कम्तीमा बाटो देखाउने मान्छे । त्यसैले म आफैँ सिक्छु र अहिलेको भन्दा राम्रो नतिजा प्राप्त गर्छु भनेर मानसिक रूपमा तयार रहनु ।

त्यही तोकिएका पाठ्यक्रममा अधिकांश शिक्षक तिनै दशवर्षे पुरानो ‘नोट’ । दिनमा चारवटा कलेज धाउने परम्परा अझै उस्तै भएकाले अपेक्षा धेरै नराख्नु भन्न परेको हो । मैले जति बढी शुल्क ति¥यो कलेजले मलाई त्यति नै गुणस्तरीय शिक्षा दिएर काम गरेर खान र बाँच्न सक्ने बनाइदिन्छ भनेर कहिल्यै नसोच्नु । यो भनेको बाबुआमाको ढाड भाँचेर आफ्नै समय र बुद्धिको नास गर्नु मात्र हो । कलेज र विद्यालयका ठूला र चित्ताकर्षक भवन, ग्ल्यामरस नवयौवनाको स्माइलसहितको रिसेप्सन, कोअर्डिनेटर वा प्रिन्सिपलको मन्त्रमुग्ध पार्ने ग्रिटिंग्स । आहा ! सुन्नलाई कम्ता मज्जा छैन । तर, व्यापार र व्यवसायको यो भूलभुलैयालाई साँच्चै ठानेर नठगिनु । सचेत रहनु । सावधान रहनु । हरेक कमिटमेन्टमा प्रश्न गर्नु । उत्तर पत्यार लाग्ने आएन भने ‘थ्याङ्क यु’भन्दा हुन्छ । यदि तिमीले सन्देह राखेनौ, शङ्का गरेनौ र स्पष्ट भएनौ भने तिमी हाँसीहाँसी आफूलाई लुटाइरहेका हुनेछौ ।

हामीकहाँ विद्यार्थीमा यो–यो गुण र क्षमता छ भनेर कलेजहरूले क्षमतावान विद्यार्थीलाई सिक्ने र बाँच्ने आधार उपलब्ध गराउने चलन छैन । तिमीलाई बाहिर ‘रिकमेन्ड’ गर्दा उनीहरूको विज्ञापनमा आघात पर्ने भय हुन्छ । त्यसैले कलेजहरू आफ्ना प्रतिभावान विद्यार्थी कहीँ ‘इङ्गेज्ड’ हुन् भन्ने चाहँदैनन् । त्यसैले के काम गर्ने भनेर सोच्ने जिम्मा तिम्रो हो । यसका लागि परिवारसँग नियमित छलफल र परामर्श गर्नु ।

आदरणीय अभिभावक

लहड र देखासिखीले बल्ड्याङ खान्छ । फलानोले चाहिँ पढ्न सक्ने तैँले वा मैले किन नसक्ने ? यो प्रश्न गर्नुअगाडि आफूलाई कुनै फलानोसँग तुलना नगर्नुहोला । विद्यार्थीले पहिला आफूलाई चिनून् । आफ्नो इच्छालाई चिनून् । आफ्नो गुण र विशेषताअनुसारको विषय छान्न सल्लाह दिऊँ । ज्ञानलाई सीपमा वा कलामा र सीप वा कलालाई आयमूलक पेसा वा व्यवसायमा बदल्ने शैक्षिक परिपाटीमा हाम्राो समाज र देश कमजोर छ । समुन्नत भविष्यका लागि रचनात्मक शिक्षाको सुविधा न हामीले पायौँ न हाम्रा सन्तानले पाउँछन् । त्यसैले सन्तानलाई कदमकदममा सङ्घर्षका लागि तयार बनाएर राख्नु । याद राख्नु, बाँच्नका लागि अन्न चाहिएजस्तै लक्ष्य प्राप्त गर्न ज्ञान र शिक्षाचाहिँ चाहिन्छ ।

Image result for see students nepal

आदरणीय अभिभावक

परीक्षाको नतिजा रवाफ र ग्लानिको विषय होइन, हुँदै होइन । बनाइनुहुँदैन । सन्तोषजनक नतिजा आउँदा खुसी हुनु स्वाभाविक होला । तर, अपेक्षित नतिजा नआउँदैमा जिन्दगीमा दुःखको पहाडले थिचिहाल्ने होइन । जीपीए कम आउँदैमा अगाडि हिँड्ने बाटो बन्द हुने होइन । ग्रेडको भागबन्डामा आवेग र निराशाको खेती लगाउन हुँदैन । शिक्षा विशुद्ध व्यापार हो । तपार्इं ठगिनबाट जोगिनुस् । सन्तानको सुरक्षाका उपायबारे आफू पनि सकेको बुझ्ने प्रयत्न गर्नुहोस् । नेपालको पाठ्यक्रम नेपाली आफैँले नबनाउन्जेल तपाईं–हाम्रा अबका पुस्ता पनि करिअरको यही विलखबन्दमा पर्ने निश्चित छ । विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र युरोपेली युनियनलाई नेपालको शिक्षामा लगानी, नीतिनिर्माणमा पहुँच र पाठ्यक्रम निर्माणको परामर्शमा सहभागी गराउन्जेल ठूला सपना नदेख्न आग्रह गर्दछु । सरकारीबाट सामुदायिक हुँदै अब विश्वविद्यालय शिक्षा र यसका तमाम प्रणालीमाथि भइरहेको सिलसिलेवार दुर्गतिबाट चाँडै सही, तपाईंको सन्तान पार लागे म खुसी हुन्छु ।
मलाई थाहा छ तपाईंको दिमागमा दुईवटा मात्र कुरा छ । एउटा देशभित्र र, अर्को देशबाहिर । अबको दुुई वर्ष कटाएर पासपोर्ट बनाइदिन पाए कम्तीमा सन्तानले आफ्नो टाउकोमा गिर नखेली उभिन्थ्यो भन्ने लाग्दो हो । हामी अभिशप्त छौँ । यो नियतिको अन्त्य तत्काल सहज छैन । चरित्रमुखी, व्याण्वसायिक, सीपकेन्द्रित पाठ्यक्र मन हुँदा हाम्रो शिक्षा पलायनमुखी छ । यो पलायन सामाजिक वर्गअनुसार विभाजित छ । सम्पन्न वर्गसँग समुद्रपार विदेशी शिक्षाको सपना छ । विपन्न वर्ग कम्तीमा खाडी पुगेर भए पनि ज्यान त पाल्छ भन्ने आशामा छन् । राजनीति र अर्थनीतिको चक्रब्युहमा हिजो मेरो पुस्ता फेलाप¥यो, आज मेरो भाइबहिनीको पुस्ता फेला पर्दै छ । भन्नलाई त धेरैथोर भएको छ, तर के–के भएको छ उत्तर बीस वर्षअगाडि फर्किएपछि मिल्दोरहेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top