+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा ‘विदुर कोरा-२६’, जनप्रतिनिधिले पुरा गरे २२ किलोमिटर यात्राको दुरी

Bidur Kora-26 in Nuwakot, people's representatives complete 22-kilometer journey
डबली खबर
१ दिन अगाडी

साउन ४, नुवाकोट । विदुर नगरपालिकाले दिगो पर्यटन प्रवर्द्धन, आन्तरिक पर्यटकीय क्षेत्रको पहिचान र स्वास्थ्य सचेतना जगाउने उद्देश्यका ‘विदुर कोरा-२६ साइक्लिङ यात्रा’ आयोजना गरेको छ ।

साईकल कनेक्ट नुवाकोटको समन्वयमा स्थानीय जनप्रतिनिधि, विभिन्न उमेर समूहका साइकलप्रेमी र सामाजिक अभियन्ताहरूसहित १४७ जनाको सहभागिता रहेको उक्त खेलकुद तथा पर्यटकीय अभियानले नुवाकोटको आन्तरिक पर्यटनमा नयाँ आयाम थपेको विश्वास गरिएको नगरप्रमुख राजन श्रेष्ठले बताए । वातावरणीय संरक्षण र जैविक विविधताको रक्षाका लागि साइकल संस्कृतिको विकास गर्नुपर्ने सन्देश प्रवाहको साथै सर्लाहीका बालबालिकाको शिक्षा अभियानलाई साथ दिँदै आयोजना गरिएको उनले बताए ।

साइक्लिङको माध्यमबाट स्थानीय कला-संस्कृति र पर्यटकीय गन्तव्यहरूको प्रचार-प्रसार गरी जिल्लामा आर्थिक गतिविधिहरू चलायमान बनाउन ठूलो मद्दत पुग्ने अपेक्षा राखेको नगरप्रमुख श्रेष्ठले बताए । बढ्दो सहरीकरण र इन्धनको अत्यधिक प्रयोगका कारण वातावरणमा परिरहेको नकारात्मक असरलाई कम गर्न यो अभियानले विशेष जोड दिएको नगरप्रमुख श्रेष्ठले बताए  ।

“इन्धन खपत कम गरी वायु प्रदूषण नियन्त्रण गर्न र पर्यावरण अनुकूल यातायातका साधनहरूलाई प्रश्रय दिन साइकल उत्तम विकल्प भएको सन्देश दिएको छ”, उनले भने “आफ्नो दैनिक जीवन र कार्यालय आउजाउ गर्दा समेत साइकल प्रयोग गर्न सके इन्धनको परनिर्भरता घट्ने र स्वच्छ वातावरण निर्माणमा प्रत्येक नागरिकको योगदान पुग्नेछ ।”

यस ऐतिहासिक तथा साहसिक साइक्लिङ यात्रामा सहभागी स्थानीय जनप्रतिनिधि र साइकल यात्रीहरूले करिब २२ किलोमिटरको चुनौतीपूर्ण दूरी सफलतापूर्वक पार गरेका छन् । यात्रा विदुर नगरपालिकाकाको नगर कार्यपालिकाको प्रशासकीय भवनको परिसर विदुर, ढुंगेहुँदै शुभघाट, सन्धिपार्क (बिस्कुन ढुंगा), बेत्रावती, तुप्चे, डि-सिलट्यांकी, हात्तीगौंडा, त्रिशूली बजार क्षेत्र परिक्रमा गर्दै पुन: विदुर नगरपालिकाको कार्यपालिकाको परिसरमा आएर समापन भएको उपप्रमुख प्रभा बोगटीले जानकारी दिईन् । यात्राको क्रममा घाईते भएकी उनले भनिन् “यात्रामा सहभागी मात्र जनाउने थियो। सबैको हौसला देखेर पुरा यात्रा पुरा गरियो। ”

साइकल यात्रा केवल एक खेलकुद मात्र नभएर यस क्षेत्रको ऐतिहासिक, धार्मिक, पर्यटकीय प्रवर्द्धनका साथै शिक्षा लागि चालिएको एक महत्त्वपूर्ण कदम भएको नगरपालिकाका विदुर-१ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक लेनिन रञ्‍जितले बताए । यात्राले नुवाकोटका पुराना र ऐतिहासिक व्यापारिक केन्द्र तत्कालिन साँघु बजार (त्रिशुली), सम्पदा क्षेत्र बेत्रावती तथा कोटहरूलाई एकापसमा जोड्ने प्रयास गरेको उनले बताए ।

विदुर ‘कोरा-२६’ अभियानको अर्को सुखद र सुन्दर पक्ष भनेको यसमा देखिएको अन्तर-पुस्ता सहभागिता हो । यस यात्रामा ६ वर्षका ससाना बालबालिकादेखि लिएर ६६ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरू समेत सँगसँगै साइकल चलाएर एउटै लक्ष्यका साथ यात्रा पुरा गरेको विदुर-४ का वडा अध्यक्ष निलमबाबु ढुंगेलले बताए । उमेरको कुनै सीमा हुँदैन र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने गतिलो उदाहरण प्रस्तुत गर्दै तीन पुस्ताका यात्रीहरूले एउटै ट्र्याकमा उत्साहपूर्वक साइकल कुदाएको दृश्य निकै रोचक र प्रेरणादायी देखिएको उनले बताए ।

यात्राको क्रममा बेत्रावतीमा गोसाँईकुण्ड युवा क्लब, तुप्चेमा विदुर-७ को कार्यालय, हत्तिगौंडामा विदुर-८ को कार्यालय, पिपलटारमा सुजिम बजार र त्रिशुली बजारमा मन्जुश्री महिला समुहले यात्रामा सहभागी सम्पूर्ण साइकल यात्रीहरूलाई ऊर्जा र हौसला प्रदान गर्नका लागि विभिन्न पौष्टिक खानेकुरा, अण्डा, पिय पदार्थ र पानीको व्यवस्थापन गरेको कार्यक्रम संयोजक सुमन श्रेष्ठले बताए ।

यात्रामा नेपाली सेनाका नुवाकोटस्थित शेर गणका प्रमुख आविष्कार ढुंगाना, साईकल धावक यादव लामिछानेलगायतले सहभागिता जनाएको अर्का कार्यक्रम संयोजक कुमार श्रेष्ठले जानकारी दिए ।

विदुर नगरपालिकाका विभिन्न सांस्कृतिक र ऐतिहासिक क्षेत्रहरू जस्तै पुराना बजार, दरबार क्षेत्र तथा स्मारक पार्कहरूको प्रवर्द्धन गर्ने दीर्घकालीन लक्ष्यसहित सम्पन्न भएको यस ‘विदुर कोरा’ को संस्करण आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ