+
Search

ताजा अपडेट +

पपुलर +

१७ मध्ये ७ शीर्षकमा राजस्व घट्यो, कुल संकलन भने ३.८७ प्रतिशत बढ्यो

administration office of Bidur municipality Nuwakot
डबली खबर
१ दिन अगाडी

साउन ६, नुवाकोट । आर्थिक वर्ष २०८२/८३ मा विदुर नगरपालिकाको राजस्व तथा दस्तुर संकलनमा मिश्रित नतिजा देखिएको छ । कुल १७ प्रमुख शीर्षकमध्ये ७ वटामा संकलन ऋणात्मक देखिएको छ भने बाँकीमा वृद्धि भए पनि समग्रमा ३.८७ प्रतिशतले राजस्व बढेको छ ।

तथ्यांक अनुसार सात शीर्षकमा ऋणात्मक देखिएको छ । वहाल विरौटी कर ४.०४ प्रतिशत, अन्य प्रशासनिक सेवा शुल्क ३७.५० प्रतिशत, नाता प्रमाणित दस्तुर ४.०९ प्रतिशत, व्यवसायिक रजिष्ट्रेशन दस्तुर/व्यवसाय कर १७.०५ प्रतिशत, विज्ञापन कर ३९.४० प्रतिशत, दहत्तर बहत्तर शुल्क ६.३४ प्रतिशत र सम्पत्ति कर ४.८२ प्रतिशत घटेको छ ।

विशेष गरी विज्ञापन करमा सबैभन्दा ठूलो गिरावट देखिएको छ भने व्यवसायिक रजिष्ट्रेशनमा पनि १७.०५ प्रतिशतको ह्रास भएको छ ।

कुल संकलन ८ करोड ६१ लाख २७ हजार २७३ रुपैयाँ पुगेको छ जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को ८ करोड २९ लाख १८ हजार ४५७ रुपैयाँभन्दा ३.८७ प्रतिशत बढी हो । सो अवधिमा नगरपालिकाले ३२ लाख ८ हजार ८१६ रुपैँया थप राजस्व संकलन गरेको हो ।

नगरपालिकाले सो अवधिमा मनोरञ्जन करमा २९१.३८ प्रतिशत, शिक्षा क्षेत्रको आम्दानीमा १४५.२३ प्रतिशत, सिफारिस दस्तुरमा ११.७० प्रतिशत, व्यक्तिगत घटना दस्तुरमा १५.८८ प्रतिशत र भूमिकर/मालपोतमा ७.९४ प्रतिशत वृद्धि भएको छ । वहाल कर पनि १४.४१ प्रतिशत बढेको छ ।

सबैभन्दा धेरै मनोरन्जन करबाट आएको छ । आर्थिक वर्ष २०८०/८१ मा सम्पत्ति कर संकलन ३५ हजार रुपैयाँ संकलन गर्दा गत वर्षको १ लाख ३६ हजार ९३८ रुपैयाँको तुलनामा २९१.३८ प्रतिशत वृद्धि भएको छ । यस्तै भूमिकर तथा मालपोततर्फ पनि सुधार देखिएको छ । उक्त शीर्षकमा ९ लाख ८८ हजार ६८ रुपैयाँ संकलन भएको छ ।

वहाल करमा उल्लेख्य प्रगति देखिएको छ । २०८०/८१ मा १ करोड ६ लाख ११ हजार ६१९ रुपैयाँ संकलन भएको छ जबकि गत वर्ष १ करोड २१ लाख ४० हजार ६९३ रुपैयाँ थियो । यसमा १४.४१ प्रतिशत वृद्धि भएको छ ।

न्यायिक दस्तुर, शिक्षा क्षेत्रको आम्दानी, सिफारिस दस्तुर र व्यक्तिगत घटना दस्तुर जस्ता शीर्षकमा पनि प्रगति देखिएको छ । तर विज्ञापन कर, दहत्तर बहत्तर शुल्क र व्यवसायिक रजिष्ट्रेशन दस्तुरमा भने गिरावट देखिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ