१८ चैत, विदुर । नुवाकोट जिल्लाको समग्र जनस्वास्थ्यको अवस्था, हालसम्मका उपलब्धि र आगामी चुनौतीका विषयमा सञ्चारकर्मी तथा पत्रकारहरूसँग एक अन्तरक्रिया कार्यक्रम भएको छ ।
जनस्वास्थ्य कार्यालय नुवाकोटको आयोजनामा विदुरमा भएको कार्यक्रममा कार्यालयकी प्रमुख डा. अञ्जु कार्कीले आर्थिक वर्ष २०८२/०८३ को अर्ध-वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै जिल्लाका विभिन्न स्वास्थ्य सूचकहरूको विश्लेषण गरेकी थिईन् । अन्तरक्रियाको मुख्य उद्देश्य स्वास्थ्य शिक्षा तथा सूचना सञ्चार प्रणालीलाई थप व्यवस्थित बनाउन सञ्चारकर्मीहरूसँग छलफल गर्नु र कार्यालयले सम्पादन गरेका गतिविधिहरूबारे जानकारी गराउनु रहेको उनले बताईन् ।
तथ्याङ्क अनुसार नुवाकोटमा एच.पि.भी खोप कार्यक्रमको प्रगति उत्साहजनक देखिएको छ। कुल २ हजार १९० लक्ष्य रहेकोमा २ हजार १३२ जना अर्थात् झण्डै ९८ प्रतिशत उपलब्धि हासिल भएको छ ।
त्यसैगरी, मातृ तथा नवजात शिशु स्वास्थ्य अन्तर्गत कम्तीमा एकपटक स्वास्थ्य जाँच गराउने गर्भवती महिलाको सङ्ख्या ७८.९९ प्रतिशत पुग्दा जिल्लाको खोप र मातृ सुरक्षामा सन्तोषजनक देखिएको छ ।
५ वर्ष मुनिका बालबालिकामा हुने शीघ्र श्वासप्रश्वास संक्रमण सबैभन्दा बढी किस्पाङ गाउँपालिकाका बालबालिकामा श्वासप्रश्वास संक्रमण समेत देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा प्रति हजार ८०९ रहेको यो दर हाल घटेर ३६४ मा झरेको तथ्याङ्कले देखाउँछ ।
त्यस्तै, पखालाको प्रकोप दर पनि प्रति हजार ३६९ बाट घटेर १२० मा सीमित भएको छ । यद्यपि, बालबालिकाको वृद्धि अनुगमन र पोषणका क्षेत्रमा अझै काम गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्ने दरमा केही उतारचढाव देखिएको छ । सेवाग्राहीको सङ्ख्या भने उल्लेख्य छ। कुल सुरक्षित गर्भपतन सेवा लिनेहरूमध्ये औषधिद्वारा गरिने गर्भपतनको हिस्सा ९८ प्रतिशतभन्दा बढी रहेको पाइएको छ। जसले जिल्लामा सर्जिकल सेवाको तुलनामा औषधिको प्रयोग बढी प्रचलनमा रहेको देखाउँछ। यद्यपि, सुरक्षित गर्भपतन सेवालाई अझै व्यवस्थित र सूचीकृत स्वास्थ्य संस्थाहरूबाट मात्रै गराउनुपर्नेमा प्रमुख डा. कार्कीले जोड दिईन् ।
कार्यक्रममा नसर्ने रोगहरूको बढ्दो जोखिम र स्क्रिनिङ कार्यक्रमका बारेमा पनि जानकारी गराइएको थियो। जिल्लाका विभिन्न पालिकाहरूमा सञ्चालित नसर्ने रोग सम्बन्धी शिविरहरूमा उच्च रक्तचाप, मधुमेह र पाठेघरको मुखको क्यान्सरको परीक्षणलाई प्राथमिकता दिइएको छ। धेरैजसो बिरामीहरूमा खानपान र जीवनशैलीका कारण स्वास्थ्य समस्याहरू देखिने गरेकाले विद्यालय स्वास्थ्य कार्यक्रम र समुदायस्तरमा सचेतना फैलाउन आवश्यक रहेको प्रमुख डा. कार्कीले बताइन् । विशेषगरी पाठेघरको मुखको क्यान्सर परीक्षणमा महिलाहरूको सहभागिता बढाउन थप पहल गर्ने लक्ष्य कार्यालयले राखेको छ।
जिल्लामा जनस्वास्थ्यसँग सम्बन्धित अन्य घटनाहरूले सामाजिक स्वास्थ्य समस्या बढेको देखाएको छ । तथ्याङ्क अनुसार चालुआर्थिक वर्षको फागुन मसान्तसम्ममा मात्रै विष सेवन र झुण्डिएर गरी ३४ जनाले आत्महत्या गरेका छन् । ७३ वटा सडक दुर्घटनाका घटनाहरू दर्ता भएका छन् ।
व्यक्तिगत लापरवाहीले गर्दा रेबिजको कारण बेलकोटगढी नगरपालिकाका एक जनाले ज्यान गुमाएका छन्। मानसिक स्वास्थ्य अन्तर्गत डिप्रेसन, एन्जाइटी र मद्यपान सम्बन्धी समस्याहरू पनि जिल्लामा उल्लेख्य रूपमा देखिएका छन् ।
कार्यक्रममा सहभागी पत्रकारहरूले स्वास्थ्यका सूचनाहरू आमनागरिकसम्म पुर्याउन सञ्चार क्षेत्रले खेल्नुपर्ने भूमिका र सरकारी तथ्याङ्कको सहज पहुँचका विषयमा आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा कार्यालयले चालु आवमा सञ्चालित र सञ्चालनमा हुन लागेको कार्यक्रमहरुको प्रस्तुति गरिएको थियो। जनस्वास्थ्य कार्यालयले जिल्लाका १२ वटै स्थानीय तहसँगको समन्वयमा स्वास्थ्य सूचना प्रणालीलाई सुदृढ बनाउने योजना अघि सारेको छ। जिल्लाका तीन आधारभूत अस्पताल खरानीटार, देउराली र ककनीमा आवश्यक पूर्वाधार र उपकरण जडानसँगै टेलिमेडिसिन सेवा सुरु गर्ने प्रमुख डा. कार्कीले जानकारी दिईन् ।
स्थानीय स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ्ग कर्मचारीहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य क्लिनिकल अद्यावधिक, जनस्वास्थ्य निगरानी (खोपबाट बचाउन सकिने रोगहरू, खानेपानी, लगायत) कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण सेवा सुदृढीकरण, एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था कार्यक्रम, एकिकृत जनस्वास्थ्य र पोषण अभियान तथा विशेषज्ञ शिविरलगायतका कार्यक्रमहरु चालुआवमा गरिने कार्यालयले जनाएको छ । साथै, जिल्लामा सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुको वस्तुस्थिति, स्थान र जनशक्तिको पहिचान गरी अभिलेख गर्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया