मङ्सिर ११, नुवाकोट । अपाङ्ग मानव अधिकार मञ्च, नुवाकोट नेत्रहीन सङ्घ, सीप विकास तथा अपाङ्ग सङ्घ, नुवाकोट बहिरा सङ्घ र अपाङ्ग संरक्षण सेवा संस्थाले संयुक्त रूपमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन तीन दिने कार्यक्रम आयोजना गर्ने भएको छ ।
मङ्सिर १६ गतेदेखि १८ गतेसम्म चल्ने कार्यक्रमको मुख्य नारा “अपाङ्गता समावेशी, पहुँचयुक्त र समतामूलक नेपाल निर्माणको आधारः महासन्धि कार्यान्वयनमा सामूहिक प्रयास यसको पूर्वाधार” रहेको छ।
आयोजक संस्थाहरूले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चितता, सम्मानजनक जीवनयापन, समान अवसर, पहुँचयुक्त संरचना र समावेशी समाज निर्माण गर्ने उद्देश्यसहित यी कार्यक्रमहरू सञ्चालन गर्ने जनाएका छन्।
कार्यक्रमको पहिलो दिन मङ्सिर १६ गते बिहान ११ बजेदेखि १२ बजेसम्म अपाङ्ग मानव अधिकार मञ्चको कार्यालयमा पत्रकार सम्मेलन हुनेछ। सोही दिन बेलुका ४ बजे बट्टार क्याम्पस गेटमा दीप प्रज्वलन कार्यक्रम पनि आयोजना गरिनेछ।
मङ्सिर १७ गते बिहान ११ः३० बजेदेखि बट्टार क्याम्पस गेटदेखि विदुर चोकसम्म र्याली निकालिनेछ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको दिन मङ्सिर १८ गते बिहान ८ बजेदेखि ११ बजेसम्म विदुरमा सरोकारवालासँग छलफल हुनेछ।
आयोजकहरूले अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार, सहभागिता र सशक्तीकरणका विषयमा सरोकारवालाबीच साझा प्रतिबद्धता जगाउने र समावेशी समाज निर्माणप्रति थप प्रेरणा प्रदान गर्ने उद्देश्यले कार्यक्रमहरू तय गरिएको अपाङ्ग मानव अधिकार मञ्चका सचिव लोचन भट्टराईले बताए ।