+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटको आयुर्वेद चिकित्सालय बागमती प्रदेशमै उत्कृष्ट

डबली खबर
६ घण्टा अगाडी

कात्तिक २०, नुवाकोट । आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवा विस्तार र व्यवस्थापनमा नुवाकोटस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती प्रदेशमै उत्कृष्ट घोषित भएको छ। आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन मूल्याङ्कनमा ७२.५ प्रतिशत अंक प्राप्त गर्दै चिकित्सालयले पहिलो स्थान हासिल गरेको हो।

स्वास्थ्य निर्देशनालय, बागमती प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीमा सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन र संस्थागत व्यवस्थापनलगायतका सूचकका आधारमा मूल्याङ्कन गरिएको थियो।

कार्यक्रममा प्रदेश मुख्यमन्त्री किरण थापामगर र स्वास्थ्य मन्त्री गिरबहादुर तामाङले संयुक्त रुपमा चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीलाई खादा ओढाई प्रमाणपत्रले सम्मान गरेका हुन् ।

चिकित्सालय भोटेकोशी बाढीपछिको स्वास्थ्य प्रतिकार्यमा सक्रिय योगदान पुर्‍याएको भन्दै प्रदेश सरकारबाट सम्मानितसमेत भएको छ। विपद्का बेला प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा व्यवस्थापन, समन्वय र प्रतिकार्यमा भूमिका निर्वाह गरेको आधारमा उक्त सम्मान दिइएको हो।

चिकित्सालय प्रमुख डा. गिरीले प्रदेशस्तरको उपलब्धि कर्मचारी, व्यवस्थापन समिति, सेवाग्राही, स्थानीय जनप्रतिनिधि र सरोकारवालाको सामूहिक प्रयासको परिणाम भएको बताए। उनले प्राप्त सम्मानले सेवा प्रवाहलाई अझ गुणस्तरीय बनाउन प्रेरणा मिलेको उल्लेख गरे।

यसैगरी कार्यसम्पादन मूल्यांकनमा बागमती प्रदेशका १३ वटा जिल्ला जनस्वास्थ्य कार्यालयहरूमध्ये जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक प्रथम हुन सफल भएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ