१२ मङ्सिर, नुवाकोट । विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आसन्न नवौँ अधिवेशन भोलि मङ्सिर १३ गते हुने संस्थाको नेतृत्व चयन प्रक्रियामा करिब एक चौथाइ उपभोक्ता सहभागी हुन नपाउने भएका छन्।
संस्थाले तोकेको समयसीमाभित्र बक्यौता महसुल नतिरेको र सदस्यता नवीकरण नगरेको कारण २३.६५ प्रतिशत उपभोक्ता मतदान प्रक्रियाबाट बाहिरिएका हुन्।
संस्थाको मतदाता नामावलीको तथ्यांकअनुसार ७६.३५ प्रतिशतले मात्र नयाँ नेतृत्व चुन्नेछन् ।
संस्थामा ४ हजार ८०० भन्दा बढी उपभोक्ता सदस्य रहे तापनि अधिवेशनमा ३ हजार ६६५ जना (७६.३५%) ले मात्र मतदान गर्न पाउने अन्तिम नामावली प्रकाशन भएको थियो ।
संस्थाको धारा जडान गरेर पानी उपभोग गरिरहेका तर तोकिएको मापदण्ड पूरा गर्न नसकेका करिब एक हजार १०० बढी उपभोक्ता (२३.६५%) नयाँ नेतृत्व चयन गर्ने प्रजातान्त्रिक अभ्यासबाट बाहिरिएका हुन्।
अधिवेशनमा वडा नम्बर १ मा १०३ जना सदस्य, वडा नम्बर २ मा ७१७ जना सदस्य र वडा नम्बर ४ मा एक हजार ३२२ जना सदस्य रहेका छन् । यसैगरी वडा नम्बर ५ मा ५१९ जना सदस्य, वडा ६ मा ५७६ जना सदस्य, वडा ८ मा ५३ र वडा ९ मा ३७५ जना सदस्य रहेका छन् ।
संस्थाले कात्तिक ३० गतेसम्मका लागि महसुलको बक्यौता तिर्न, सदस्यता नवीकरण गर्न, धारा नामसारी गर्न र परिचयपत्र लिन सार्वजनिक सूचना जारी गरेको थियो। तर, उक्त समयसीमाभित्र ठुलो सङ्ख्याका उपभोक्ताले आफ्नो आर्थिक दायित्व पूरा नगर्दा उनीहरू मतदाता हुनबाट वञ्चित भएका हुन्।
नियमित महसुल नतिर्ने प्रवृत्ति र संस्थाको सूचनालाई बेवास्ता गर्दा उपभोक्ताहरू आफ्नै संस्थाको नीति निर्माण र नेतृत्व चयनमा अयोग्य सावित भएका छन्।
विदुर नगरपालिकाभित्र ६० वटा खानेपानी सुरक्षा तथा सरसफाइ समूहहरू क्रियाशील रहेको र २५ हजारभन्दा बढी जनसङ्ख्याले सेवा लिइरहेको यो संस्था जिल्लाकै ठुलो उपभोक्ता समिति हो।
विदुर नगरपालिकाका सात वडाहरुमा सेवा विस्तार गरेको संस्थाको भोलि शनिबार नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा हुनेछ ।

प्रतिक्रिया