+
Search

ताजा अपडेट +

पपुलर +

आत्मवृत्तान्त

प्रलयमा बेत्रावती!

त्रिशूलीको भीषण बाढीले बस्ती नै सोत्तर

शशी डङ्गोल
१ घण्टा अगाडी

असोज १०, नुवाकोट । विपत्तिको कुनै निश्चित समय, तालिका वा सूचना हुँदैन भन्ने कुरा हामीले किताब र समाचारमा पढ्दै आएका थियौँ। तर, जब त्यो स्वतः आफ्नै घर, आँगन र वर्षौँको पसिनाले उठाएको बस्तीमाथि बज्रपात बनेर खस्छ, तब शब्दहरू स्तब्ध हुन्छन्, अनि चेतनाले काम गर्न छाड्छ।

गत भदौ १० गते बुधबारको त्यो कालो बिहान मेरो जीवनमा कहिल्यै नमेटिने एउटा कहालीलाग्दो अध्याय बनेर आएको छ।

त्रिशूली र भोटेकोशी नदीमा आएको अभूतपूर्व भीषण बाढीले रसुवा र नुवाकोटको सीमावर्ती ऐतिहासिक बजार बेत्रावतीलाई हेर्दाहेर्दै बगर र लेदोमा परिणत गरिदियो।

स्थानीय नागरिकको हैसियतले त्यो त्रासदीको प्रत्येक क्षणलाई क्यामेरामा कैद गर्दा मेरो हात काँपिरहेका थिए, छाती भक्कानिएको थियो।

मेरो आफ्नै घर, दाजुभाइको पसिना र सिङ्गो बेत्रावती बजार आँखैअगाडि तातो बालुवा र उर्लँदो धमिलो नदीमा विलीन हुँदाको प्रत्यक्ष विवरण र घटनाक्रमको आत्मवृत्तान्त यहाँ प्रस्तुत गरेको छु।

after floods Shashi Dangol injured

बाढीको प्रलयमा भाग्दाभाग्दै घाईते हुँदा

बिहान ८:३० – ९:०० बजे: विपत्तिको पहिलो सङ्केत र त्रास

सुरुमा माथिल्लो भेग (टिमुरे, स्याफ्रूबेँसी र सल्लेटर) तिर भीषण बाढी आएको र नदी थुनिएको हल्ला मोबाइलका फोनहरूमार्फत फैलन थाल्यो। खोलाको बहाव एक्कासि परिवर्तन हुन थालेको थियो।

फोनमा मानिसहरू अत्तालिँदै भन्दै थिए, “माथिबाट भयंकर बाढी आएको छ, सतर्क रहनुस्!”

तर, भदौ-असोजको यो समयमा त्रिशूली नदीले यसरी आफ्नो कालजयी रूप देखाउला भनेर बेत्रावतीवासीले सपनामा पनि सोचेका थिएनन्।

Betrawati Flood 2026

मोबाईलको क्यामेरा बाढीको मुल्सो कैद

बिहान ९:०० – ९:१५ बजे: बिजुलीका टावर ढाल्दै उर्लिएको त्रिशूली

नदीमा पानीको सतह अचम्मको गतिमा बढ्न थाल्यो। ठूला-ठूला फलामका विद्युतीय टावरहरू, रुखहरू र लेदोको थुप्रो त्रिशूलीको धमिलो प्रवाहमा सलाईका काँटीझैँ ढल्न थाले।

नजिकैका मानिसहरूलाई मैले “माथि जाऊ, माथि जाऊ! त्यहाँ नबस!” भन्दै चिच्याउन थाले।

त्रास यतिसम्म फैलियो कि को कता भाग्यो, कसले कसलाई बचाउन खोज्यो, केही पत्तो भएन। मानिसहरू आफ्ना लालावाला बोकेर बेल्टारको डाँडातर्फ उकालो लाग्न थाले।

after flooding Shashi K Dangol house

बाढीपछिको घर र बेत्रावती बजार

बिहान ९:१५ – ९:३० बजे: आँखैअगाडि विलीन भयो बेत्रावती बजार

त्रिशूली नदी र फलाम खोला क्षेत्रमा माथिबाट आएको बाढीले नदीको साँघुरो भाग ब्लक गरिदियो। पानीको विशाल बहाव सोझै बेत्रावती बजारतर्फ मोडियो। हेर्दाहेर्दै पक्की घरहरू, पसलहरू र करोडौँको लागतमा बनेका भौतिक संरचनाहरू तासको पत्ताझैँ ढल्न थाले।

बजारका अधिकांश मानिसहरू घरभित्रै थिए। स्कुल जाने समय भएकाले धेरै बालबालिकाहरू उत्तरगया बोर्डिङ र रामचन्द्र स्कुलतर्फ गइसकेका थिए।

“हे भगवान्, मेरो परिवार कहाँ गयो? मेरो लक्ष्मी कहाँ गई? बच्चाहरू सुरक्षित छन् कि छैनन्?” भन्दै मेरो क्रन्दनले डाँडाकाँडा गुन्जियो।

बिहान ९:३० – १०:०० बजे: जलमग्न संरचना र विस्थापनको पराकाष्ठा

बाढीले उत्तरगया गाउँपालिका र कालिका गाउँपालिका जोड्ने पुल, हाइड्रोपावरका संरचनाहरू, र तुप्छेका तल्लो टारहरू पूरै सोत्तर बनायो।

राष्ट्रिय वाणिज्य बैङ्क तथा एनआईसी एसिया बैङ्क रहेको भवन क्षेत्र जलमग्न भयो।

घन्टाघर नजिकैका केही मानिसहरू घरको छतमा थुनिएका खबरहरू आयो । माथि आकाशमा हेलिकप्टरहरू घुम्न थाले पनि तलको भयावह दृश्य र तीव्र बहावका कारण उद्धार कार्य सोचेजस्तो सहज थिएन।

Shashi K Dangol art collecting

बाढीपछी आफ्ना सिर्जना सङ्कलन गर्दै

“हाम्रो सर्वस्व गयो, तर मान्छे बचेका छौँ”

हामी बेल्टार डाँडामा पुगेर पछाडि फर्केर हेर्दा बजारको नामोनिसान बाँकी थिएन। मेरो आफ्नै भाइहरूको तीनवटा भर्खरै बनेका नयाँ घरहरू—जसमा जीवनभरको कमाइ र पसिना लगानी भएको थियो—सबै लेदोले पुरिएका थिए। मेरो घरको छतमा रहेको एउटा प्लाष्टिकको ड्रमबाहेक केही पनि बाँकी रहेन। एकसरो लगाएको लुगाबाहेक हामीसँग केही बचेन।

हामीले पर्सिपल्ट हाम्रा स्वर्गीय साइला बाउको स्मृतिमा गाईजात्रा निकाल्ने सम्पूर्ण तयारी गरिसकेका थियौँ। तर प्रकृतिले एकै सेकेन्डमा हाम्रा सबै खुसी, योजना र सपनाहरूलाई बगाएर लगिदियो।

बजारका ८० प्रतिशतभन्दा बढी मानिसहरू प्रत्यक्ष प्रभावित भएका छन्। धेरै छिमेकी र इष्टमित्रहरू बाढीमा बेपत्ता हुनुभयो। को जीवित छन्, को पुरिए, कसैलाई केही थाहा थिएन। तर पनि, डाँडामा भेला भएका आफन्तहरूले एक-अर्कालाई अँगालो हाल्दै आँसु पुछे, “सम्पत्ति र घर त फेरि बनाउँला भाइ, मान्छे मान्छे बाँचेका छौँ, यही ठूलो कुरा हो।”

Shashi Dangol Watching the flood damage the house

बाढीले क्षति पुर्याएको बेत्रावती हेर्दै

विनाशपछिको बेत्रावती: एक बगर र प्रश्नहरू

बाढीको बहाव केही घण्टापछि केही कम त भयो, तर त्यसले छाडेर गएको दृश्य झनै हृदयविदारक थियो। सिङ्गो बजार हिलो र लेदो (गेग्रान) को विशाल थुप्रोमा परिणत भएको थियो। खानेपानीको सञ्जाल, सिँचाइ कुलो, सडक, र खेतीयोग्य जमिन सबै डामाडोल भएका थिए।

भोटेकोशी र त्रिशूलीको यो प्रलयले हामीलाई प्रकृति अगाडि मानिस कति विवश र असहाय छ भन्ने कठोर सत्य पुन: स्मरण गराएको छ।

करोडौँको भौतिक क्षति त छँदै छ, तर त्योभन्दा ठूलो क्षति हाम्रा बाल्यकालका स्मृतिहरू, सांस्कृतिक पहिचान र आफ्ना मानिसहरू गुमाउनुको पीडा हो।

आज बेत्रावती शून्य छ!

तर यहाँका बासिन्दाहरूको आँखामा जीवित रहनुको आशा र पुनरुत्थानको सङ्कल्प अझै बाँकी छ।


गत भदौ १० गते आएको बाढीको प्रत्यक्षदर्शी र आफ्नै मोबाईलको क्यामेराले कैद गरेको भिडिओ

लेखकको बारेमा

शशी डङ्गोल

ट्रेन्डिङ