२८ वैशाख, नुवाकोट । नेपाल सरकारले ‘भिजिट नेपाल २०८५’ अभियान मनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ लाई लक्षित गर्दै उक्त अभियानको पूर्वतयारी वर्षका रूपमा अघि बढाइने जनाएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित विभिन्न सुधार कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सरकारले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने, निजी क्षेत्रको सहभागिता विस्तार गर्ने तथा अन्तरराष्ट्रिय सुरक्षा मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्ने घोषणा गरेको छ । साथै पर्यटक भिसा प्रणालीलाई पूर्ण रूपमा अनलाइन बनाइने नीति पनि अघि सारिएको छ ।
यस्तै, अन्तरराष्ट्रिय विमानस्थलहरूमा ईगेट प्रणाली जडान गरिने तथा दुई अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय उडान विस्तार गर्न कूटनीतिक पहल गरिने राष्ट्रपति पौडेलले बताए ।
सरकारले पर्यटन क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै डिजिटल प्रवर्द्धन, सहज सेवा र अन्तर्राष्ट्रिय पहुँच विस्तारमार्फत नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ ।

प्रतिक्रिया