+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा व्यावसायिक कुखुरापालन २२ हजार ९२८ फार्महरू, सबैभन्दा धेरै बागमतीमा

नेपालमा व्यावसायिक कुखुरापालन २२ हजार ९२८ फार्महरू, सबैभन्दा धेरै बागमतीमा
डबली खबर
३ हप्ता अगाडी

७ चैत, नुवाकोट । राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१/८२’ ले देशको पोल्ट्री क्षेत्रको वर्तमान अवस्था र यसले अर्थतन्त्रमा पुऱ्याएको देखाएको छ । सर्वेक्षणले व्यावसायिक रूपमा सञ्चालन भइरहेका पोल्ट्री फार्महरू, मासु तथा अण्डा उत्पादनको मात्रा, र रोजगारीको अवस्थालाई समेटेको छ ।

प्रतिवेदन अनुसार, नेपालमा व्यावसायिक कुखुरापालन गर्ने फार्महरूको संख्या २२ हजार ९२८ पुगेको छ । यीमध्ये सबैभन्दा धेरै फार्महरू बागमती प्रदेशमा ७ हजार ८९२ रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ८३३ वटा मात्र रहेका छन् । यसले कुखुरापालनको व्यावसायिक विस्तार प्रादेशिक रूपमा असमान रहेको देखाएको छ।

कुल फार्महरूमध्ये १४ हजार ६०६ (करिब ६३.७ प्रतिशत) सरकारी निकायमा व्यवसाय दर्ता भएका छन् । ८ हजार ३२२ फार्महरू अझै पनि दर्ता प्रक्रिया बाहिरै रहेका छन् । कोशी र बागमती प्रदेशमा दर्ता नभएका फार्महरूको संख्या उल्लेख्य रहेको तथ्याङ्कले देखाएको छ ।

उत्पादनको हिसाबले नेपालको पोल्ट्री क्षेत्र मासुमा आत्मनिर्भरतातर्फ उन्मुख देखिन्छ। सर्वेक्षण अवधिमा देशभर २ करोड ४५ लाख २ हजार १४७ ब्रोइलर कुखुराहरू पालिएका थिए । मासु उत्पादनमा पनि बागमती प्रदेश नै अग्रस्थानमा रहेको छ, जहाँ ९६ लाख ७ हजार २११ ब्रोइलर कुखुराहरू रहेका छन् ।

अण्डा उत्पादनतर्फ पनि बागमती प्रदेशकै वर्चस्व कायम छ। प्रतिवेदन अनुसार देशभर ६५ लाख ८२ हजार ४५३ लेयर्स कुखुराहरू पालिएका छन्, जसमध्ये ३१ लाख ७४ हजार ८२८ कुखुराहरू बागमती प्रदेशमा मात्रै रहेका छन् । गण्डकी र लुम्बिनी प्रदेशले पनि अण्डा उत्पादनमा महत्वपूर्ण हिस्सा ओगटेका छन्।

ह्याचरी र चल्ला उत्पादनको क्षेत्रमा नेपालले ठूलो फड्को मारेको छ। नेपालमा ११८ वटा व्यावसायिक ह्याचरीहरू सञ्चालनमा छन्, जसले ब्रोइलर, लेयर्स र अन्य जातका चल्लाहरू उत्पादन गर्दछन् । यी ह्याचरीहरूका लागि आवश्यक पर्ने ‘प्यारेन्ट’ चल्लाहरू नेपालका साथै भारत, थाइल्याण्ड र मलेसिया जस्ता देशहरूबाट आयात गर्ने गरिएको छ ।

लगानी र खर्चको पाटोलाई हेर्दा, यस क्षेत्रमा ६० अर्ब ४० करोड भन्दा बढीको स्थायी सम्पत्ति परिचालन भएको देखिन्छ । सर्वेक्षण वर्षमा मात्रै व्यवसायीहरूले करिब १ अर्ब १९ करोड थप पूँजीगत खर्च गरेका थिए । यसले पोल्ट्री क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी रहेको पुष्टि गरेको छ ।

यस व्यवसायले रोजगारी सिर्जनामा पनि ठूलो भूमिका खेलेको छ। देशभरका फार्महरूमा हजारौं व्यक्तिहरू प्रत्यक्ष रूपमा संलग्न छन् । विशेषगरी युवा र वैदेशिक रोजगारीबाट फर्केकाहरूका लागि यो क्षेत्र आकर्षणको केन्द्र बनेको छ, किनकि ३ हजार ६३९ जना व्यवसायीहरू यसअघि वैदेशिक रोजगारीमा संलग्न थिए ।

यति हुँदाहुँदै पनि, व्यवसायीहरूले थुप्रै चुनौतीहरूको सामना गरिरहेका छन्। बजारको अभाव, पूँजीको कमी, र चल्ला तथा दानाको गुणस्तरमा हुने समस्याका कारण कतिपय फार्महरूले आफ्नो उत्पादन क्षमता घटाउनु परेको वा व्यवसाय नै बन्द गर्नुपरेको अवस्था छ । तथ्याङ्क अनुसार बागमती र कोशी प्रदेशमा बजार अभावको समस्या बढी देखिएको छ

सरकारी सेवा र सुविधाको पहुँचमा पनि केही रिक्तता देखिएको छ। धेरै व्यवसायीहरूले ऋणको ब्याजदरमा सहुलियत र अनुदानको प्रभावकारी व्यवस्था हुनुपर्ने माग गरेका छन् । साथै, स्थानीय तहमा प्रयोगशालाको व्यवस्था र विद्युत् महसुलमा छुट जस्ता मागहरू पनि प्रतिवेदनमा समेटिएका छन् ।

प्रतिवेदनले नेपालको पोल्ट्री व्यवसायलाई थप व्यवस्थित र नाफामूलक बनाउन नीतिगत सुधारको आवश्यकता औंल्याएको छ। सरकारले गुणस्तर अनुगमन, मूल्य निर्धारण र प्राविधिक तालिममा ध्यान दिएमा यो क्षेत्र राष्ट्रिय अर्थतन्त्रको बलियो खम्बा बन्न सक्ने देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ