+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा प्रहरीको सक्रियता, अपराध अनुसन्धानदेखि सामुदायिक सचेतनासम्म

nepal police report of Mansir moth Nuwakot Dabalikhabar
डबली खबर
४ महिना अगाडी

३ पुस, विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले चालुआर्थिक वर्षको मङ्सिर महिनाको कार्य प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ।

प्रतिवेदनअनुसार प्रहरीले सो अवधिमा अपराधको अनुसन्धान मात्र नभई आधुनिक बैंकिङ कसुर, सामुदायिक साझेदारी र विपद् व्यवस्थापनमा समेत उल्लेख्य सक्रियता देखाएको नुवाकोटका प्रहरी प्रमुख दुर्गाराज रेग्मीले बताए । साथै प्रहरीले यस अवधिमा अपराध नियन्त्रण, शान्ति सुरक्षा र जनचेतनाका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको उनले बताए ।

यस अवधिमा जिल्लाभर विष सेवन, सवारी ज्यान, अभद्र व्यवहार र बैंकिङ कसुर लगायतका कुल २४ वटा मुद्दा दर्ता भएका छन् । जिल्लामा जबर्जस्तिकरणीमा १ ओटा कर्तव्य ज्यान ५ ओटा, दोहोरो नागरिकता ३ ओटा, साईबर अपराधका १ ओटा र बैंकिङ कसुरका ४ वटा मुद्दा दर्ता भएका छन्। यसले समाजमा हिंसात्मक घटनासँगै आर्थिक तथा प्राविधिक अपराधको चुनौती बढ्दै गएको देखाएको छ।

प्रहरीले यस अवधिमा विभिन्न मुद्दाका १० जना प्रतिवादी र फैसला कार्यान्वयनका क्रममा ९ जना फरार व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

प्रहरीले ककनी गाउँपालिका-२ स्थित बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोरभित्र बेवारिसे अवस्थामा रहेको एक थान चिनियाँ पेस्तोल प्रहरीले बरामद गरेको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षामा प्रहरीले विशेष संवेदनशीलता अपनाएको देखिन्छ। हराएका १२ जनामध्ये ९ जनालाई प्रहरीले सफल रूपमा फेला पारी परिवारको जिम्मा लगाएको छ। बाँकी ३ जनाको खोजी कार्य जारी रहेको जनाएको छ।

प्रहरीले प्राप्त ७ वटा उजुरीमध्ये ३ वटालाई मेलमिलापमार्फत र ३ वटालाई कानुनी प्रक्रियामार्फत टुङ्ग्याएको छ। पीडित हुनेमा ३१–४५ वर्ष उमेर समूह र पीडकका रूपमा ४६–६० वर्ष उमेर समूहको बाहुल्यता देखिनुले सामाजिक-पारिवारिक द्वन्द्वको नयाँ पाटोलाई संकेत गरेको छ।

अपराध न्यूनीकरण गर्ने उद्देश्यका साथ नुवाकोट प्रहरीले समुदाय र विद्यालयस्तरमा व्यापक अभियान चलाएको छ। महिनाभर कुल १४५ वटा जनचेतनामूलक कार्यक्रम गरेको छ । जसमा लैङ्गिक हिंसाविरुद्ध २७ पटक, लागुऔषध विरुद्ध: २२ पटक, ट्राफिक सचेतनामा १५ पटक र आत्महत्या न्यूनीकरणमा १३ पटक विशेष कार्यक्रमहरू सञ्चालन गरिएका थिए । यी कार्यक्रमहरूमा जिल्लाका २ हजार ८ सयभन्दा बढी नागरिकको सहभागिता रहेको थियो ।

यस्तै, प्रहरीले फैसला कार्यान्वयन, ट्राफिक नियम उल्लङ्घन र प्राकृतिक सम्पत्ति दोहनलगायतका घटनामा ३ लाख ६१ हजार ६०० रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

यसबाहेक दुप्चेश्वर जात्रा, जालपादेवी मन्दिरको मेला र विदुर खानेपानीको निर्वाचन जस्ता विशेष अवसरहरूमा प्रहरीले थप जनशक्ति परिचालन गरी सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ