मङ्सिर १, कोलोनी। भदौ १० गतेको बाढीबाट विस्थापित नुवाकोटका पीडित परिवारहरूले विपद्को करिब तीन महिना बितिसक्दा पनि राहत, पुनर्निर्माण र सुरक्षित बासस्थानका लागि राज्यबाट ठोस पहल नभएको गुनासो गर्दै नेपाल विद्युत प्राधिकरणको खाली जग्गामा टेन्ट टाँगेर बस्न थालेका छन्।
मङ्गलबार बाढी पीडितहरूले नगरपालिका–९ स्थित नेपाल विद्युत प्राधिकरणको खाली जग्गामा अस्थायी बस्ती बनाएका हुन्।
विदुर नगरपालिकाको तथ्यांकअनुसार १ नम्बर वडामा ४५० पूर्ण क्षति र १०२ जग्गा क्षति भएको छ ।
स्थानीय नविन्द्रमान प्रधानका अनुसार तीन महिना नजिक पुग्दासमेत बासस्थानको कुनै सुनिश्चितता नभएपछि उनीहरू बाध्य भएर उक्त जग्गामा बस्न थालेका हुन्। पीडितहरूले जग्गा सम्याएर विभिन्न संघसंस्थाले उपलब्ध गराएका टेन्ट टाँगेका छन्। चिसो बढ्दै गएको अवस्थामा सुरक्षित वा स्थायी विकल्प नहुँदा भुइँमै टेन्ट हालेर बस्नुपरेको उनीहरूको गुनासो छ।
विपद्पछिको करिब तीन महिना हुँदा पनि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारबाट पुनर्बासका लागि कुनै ठोस कदम नदेखिएको उनको आरोप छ।
राज्यको उदासीनताले विस्थापित परिवारहरू अन्योलमा परेको उनी बताउँछन्। सुरक्षित बासस्थान र बस्ती स्थानान्तरणका लागि पटक–पटक सम्बन्धित निकायहरूसँग आग्रह गर्दा आश्वासन मात्र मिलेको तर व्यवहारमा काम नभएको उनको भनाइ छ।
बाढी गएको १३ दिनसम्म पनि सरकारबाट केही उद्धार नभएपछि उद्धारमा खटेका स्थानीय महेन्द्र श्रेष्ठले राहतभन्दा पनि बस्ने ठाउँको सुनिश्चितता हुनुपर्ने बताए । सरकारबाट बासस्थानको टुङ्गो नभएपछि स्थानीय मिलेर आवासका लागि खाली जग्गा खोजेको उनले बताए ।