मङ्सिर ७, नुवाकोट । गत भदौमा भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त विदुर नगरपालिका-१ स्थित त्रिभुवन त्रिशूली बहुमुखी कलेजको पठनपाठन पुनः सञ्चालनका लागि एनसेल फाउन्डेसनले शैक्षिक पूर्वाधार सहयोग प्रदान गर्ने भएको छ।
आईतबार फाउन्डेसन र विदुर नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले नगरपालिका कार्यालयमा उक्त पत्रमा हस्ताक्षर गरेका हुन्।
बाढीले क्याम्पसका संरचनामा व्यापक क्षति पुर्याएपछि तीन सयभन्दा बढी विद्यार्थीको अध्ययन प्रभावित भएको थियो। सहयोगसँगै बाढीपछि ठप्प भएको पठनपाठन पुनः सुरु हुने अपेक्षा गरिएको छ।
समझदारीअनुसार नगरपालिका र कलेज व्यवस्थापनसँगको सहकार्यमा फाउन्डेसनले नियमित कक्षा सञ्चालनका लागि ३२ वटा कक्षाकोठाको भौतिक पूर्वाधारमा सहयोग गर्नेछ। साथै कम्प्युटर र फर्निचरलगायत आवश्यक सुविधा पनि उपलब्ध गराइने जनाइएको छ।
नगरप्रमुख श्रेष्ठले अतिआवश्यक शैक्षिक पूर्वाधार सहयोग गरेकोमा फाउन्डेसनप्रति आभार व्यक्त गर्दै यो सहकार्यलाई उच्च मूल्याङ्कन गरे। उनले नगरपालिकाका अन्य क्षेत्रमा पनि शैक्षिक सहयोग विस्तार गर्न सँगै काम गर्न चाहेको बताए।
फाउन्डेसनकी निर्देशक खड्काले बाढी प्रभावित क्षेत्रमा शैक्षिक सहयोग विस्तार गर्न प्रतिबद्ध रहेको बताउँदै प्रभावित स्थलमै पुगेर स्थानीय समुदाय र निकायसँग हातेमालो गरी काम गर्नुपर्नेमा जोड दिइन्। विदुर नगरपालिकासँगको सहकार्य सुरुवात मात्र भएको उल्लेख गर्दै उनले स्थानीय साझेदारसँग मिलेर अन्य विद्यालय तथा क्याम्पस पहिचान गरी सहयोग गरिने जानकारी दिइन्।
यसअघि भोटेकोशी बाढीपछि तत्काल राहत तथा उद्धारका लागि एनसेल फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग प्रदान गरेको थियो। अब स्थानीय पालिकासँग प्रत्यक्ष सहकार्य गर्दै समुदायस्तरमै विद्यालय र विद्यार्थीलाई सहयोग गर्ने काम सुरु गरिएको फाउन्डेसनले जनाएको छ।