+
Search

ताजा अपडेट +

पपुलर +

विदुर नगरपालिकाको स्वास्थ्य सेवा नुवाकोटकै उत्कृष्ट

bidur municipality health service rewared 2025
डबली खबर
५ महिना अगाडी

२८ कात्तिक, विदुर । नुवाकोट जिल्लाका १२ स्थानीय तहमध्ये विदुर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ ।

जनस्वास्थ्य कार्यालय नुवाकोटद्वारा बिहीबार विदुरमा आयोजित गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा गोष्ठीमा जिल्लाभरका स्थानीय तहहरूले सम्पादन गरेका स्वास्थ्य सेवा गतिविधि, प्राप्त उपलब्धि तथा प्रस्तुतीकरण क्षमताका सूचकका आधारमा गरिएको मूल्यांकनमा विदुर नगरपालिकाले ७०.७८ प्रतिशत अङ्क प्राप्त गर्दै उत्कृष्ट भएको जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए ।

स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिताको मूल्याङ्कनका आधारमा पालिकाले अग्रस्थान हासिल गरेको उनले बताए ।

स्वास्थ्य सेवाको क्षेत्रमा प्राप्त उत्कृष्टता नगरवासीका लागि गर्वको विषय भएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताए । यो उपलब्धिले विदुर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानी, समन्वय, सेवा विस्तार तथा व्यवस्थापन क्षमताको प्रभावकारितालाई स्पष्ट रूपमा प्रमाणित गरेको उनले बताए ।

नगरपालिकाले गुणस्तरिय स्वास्थ्य सेवाका साथै नगरवासीको शारीरिक एवं मानसिक स्वास्थ्यका लागि जीवनशैली परिवर्तन र योगका कार्यक्रमलाईसमेत उच्च महत्व दिएको नगर स्वास्थ्य प्रमुख रामराजा भण्डारीले जानकारी दिए। यो उत्कृष्टताले नगरबासीलाई अझ प्रभावकारी, सुलभ र गुणस्तरिय सेवा दिन प्रोत्साहन गरेको उनले बताए ।

नगरपालिकामा १८ वटा स्वास्थ्य संस्था, ६२ जना स्वास्थ्यकर्मी र १५३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु रहेका छन् ।

गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको गहन मूल्याङ्कन पश्चात तयार पारिएको नतिजाका आधारमा दुप्चेश्वर गाउँपालिका (६७.१० प्रतिशत) दोस्रो र पन्चकन्या गाउँपालिका (६६.४० प्रतिशत) तेस्रो भएको मुल्यांकन समितिका संयोजक तथा जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत अमृत महर्जनले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ