असोज २५, नुवाकोट । भदौ १० गते आएको भोटेकोशी-त्रिशूली नदीमा लेदोसहित आएको विनाशकारी बाढीले बगाएको बेत्रावतीस्थित पुलको विकल्पमा नयाँ ‘मोडुलर एक्रो ब्रिज’ सञ्चालनमा ल्याइएको छ।
नेपाली सेनाको युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी अनुपजंग थापाले गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाका प्रमुख कृष्णनाथ ओझालाई पुल हस्तान्तरण गरेका हुन् ।
७३.२ मिटर लम्बाई र ४० टन भारवहन क्षमता रहेको पुल हस्तान्तरणसँगै बाढी प्रभावित क्षेत्रका नागरिकको आवतजावत तथा राहत सामग्री ढुवानीमा सहज हुने भएको जनाएको छ ।
पुल निर्माणसँगै आइतबारबाट उक्त खण्डमा सवारीसाधनको आवागमन औपचारिक रूपमा सुचारु भएको छ।
बाढीले पुल बगाउँदा नुवाकोट र रसुवाको सडक सञ्जाल पूर्णरूपमा विच्छेद भएको थियो। लामो समयसम्म सवारी आवागमन ठप्प हुँदा स्थानीयवासी र यात्रुहरूले सास्ती भोग्दै आएका थिए।
सडक विभाग र स्थानीय प्रशासन एवं नेपाली सेनाले पुल निर्माणलाई प्राथमिकतामा राखेर युद्धस्तरमा काम अगाडि बढाएका थिए। प्राविधिकहरूको निरन्तर प्रयासपछि हाल उक्त स्थानमा जडान गरिएको ‘मोडुलर एक्रो ब्रिज’बाट यातायात सञ्चालन गर्न सकिने अवस्था बनेको छ।