sujim bazar advert

बागमतीमा खाद्यबाली घट्यो, तरकारी-फलफूल बढ्यो (प्रतिवेदनसहित)

डबली खबर     कार्तिक २७, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

Economic Activity Study 2081 82 Annual Report Bagmati Province
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२७ कात्तिक, नुवाकोट । बागमती प्रदेशमा कृषि क्षेत्रले मिश्रित परिणाम देखाएको प्रतिवेदनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को वार्षिक प्रतिवेदनका अनुसार प्रदेशभरि कृषि उपजले ढाकेको भू–क्षेत्र ५.८ प्रतिशतले घटेको छ । तर, कुल कृषि उत्पादनमा सामान्य वृद्धि (०.८ प्रतिशत) ले देखिएको छ ।

खाद्य तथा अन्य बालीको उत्पादनमा ६.५ प्रतिशतको कमी भए पनि तरकारी र वागवानी बालीले १६.२ प्रतिशत उत्पादन बढेको प्रतिवेदनमा उल्लेख छ । जसले कृषि क्षेत्रमा उत्साह जगाएको छ ।

समीक्षा वर्षमा कोदो उत्पादन ५.२ प्रतिशत बढेको छ । प्रतिवेदन अनुसार धान उत्पादन १.१ प्रतिशत, मकै ५.० प्रतिशत, फापर ५.१ प्रतिशत, गहुँ १८.५ प्रतिशत र जौ ३२.६ प्रतिशत घटेको छ । आलु, भटमास, तेलहन र दलहन बालीमा पनि उल्लेखनीय गिरावट देखिएको छ ।

क्षेत्रफलको दृष्टिले हेर्दा खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्र ७.५ प्रतिशत घटेको छ । यसमा जौ, फापर र दलहन बालीले सबैभन्दा बढी घटेको प्रतिवेदनमा उल्लेख छ । जिल्लागत हिसाबमा चितवन जिल्लाको हिस्सा सबैभन्दा बढी छ । चितवनको १३.१ प्रतिशत योगदान देखिन्छ । भक्तपुरको सबैभन्दा कम १.७ प्रतिशत रहेको छ ।

तरकारी, वागवानी र फलफूल: तरकारी र मसला बालीले चमक

तरकारी तथा वागवानीको उत्पादन १६.२ प्रतिशत बढेको छ । यस्तो प्रकारको बालीले ढाकेको भू–क्षेत्र पनि ५.१ प्रतिशत वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

फलफूलको उत्पादन १.९ प्रतिशतले घटेपनि मसला बालीले ४४.१ प्रतिशत वृद्धि भएको छ । मसला बालीमा सिन्धुली जिल्लाको योगदान सबैभन्दा बढी २३.९ प्रतिशत रहेको छ । मकवानपुरको हिस्सा नगन्य छ ।

पशुपालनमा दूध उत्पादन १.२ प्रतिशत, मासु उत्पादन २.९ प्रतिशतले घटेको छ । अण्डा उत्पादन २.७ प्रतिशतले बढेको छ । माछा उत्पादन २.८ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । जिल्लागत हिसाबमा चितवन सबै उत्पादनमा अग्रणी छ । तर, रसुवा जिल्लाको हिस्सा न्यूनतम रहेको छ ।

काठ र दाउरा उत्पादन क्रमश: ५२.४ प्रतिशत र २९.१ प्रतिशतले वृद्धि भएको छ । यसले प्रदेशमा काठजन्य उद्योग र निर्माणका लागि स्रोतको उपलब्धता बढेको देखाउँछ ।

सिँचाइ र कृषि कर्जा

बागमती प्रदेशमा ३ लाख ४५ हजार ३४० हेक्टर क्षेत्रफल खेतीयोग्य रहेको छ । जसमध्ये ४७ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । सिँचित क्षेत्रफल २२.६ प्रतिशत वृद्धि भएको छ ।

समिक्षा वर्षमा बैंक तथा वित्तीय संस्थबाट प्रवाह हुने कृषि कर्जा १ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १.३ प्रतिशत बढी हो । बागमतीमा बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको ३.७ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् ।
कृषि क्षेत्रमा प्रवाहित कर्जामा काठमाडौं जिल्लाको हिस्सा सबैभन्दा बढी ५२.६ प्रतिशत छ ।

चितवनको हिस्सा २३.१ प्रतिशत, मकवानपुरको हिस्सा ४.७ प्रतिशत, काभ्रेपलाञ्चोकको हिस्सा ४.३ प्रतिशत र दोलखाको हिस्सा सबैभन्दा कम ०.५ प्रतिशत रहेको छ ।

जिल्लागत कृषि कर्जाको अवस्था हेर्दा काठमाडौं र चितवनमा अधिकेन्द्रित भएको देखिन्छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरूको कर्जा सीमा बमोजिम केन्द्रीय एवम् क्षेत्रीय कार्यालयहरूबाट कर्जा स्वीकृत हुने र त्यस्ता कार्यालयहरू धरेैजसो काठमाडौंमा भएको कारण सो जिल्लाहरूको कृषि कर्जाको हिस्सा बढी देखिने गरेको अनुमान छ ।

केके छन् मुख्य चुनौतीहरू ?

प्रतिवेदनमा विभिन्न चुनौतिहरु पनि उल्लेख गरिएको छ । कृषि पेसाको व्यावसायीकरण र आधुनिकीकरण लगायतलाई मुख्य चुनौतिको रुपमा अघि सारिएको छ ।

यस्तै, खेतीयोग्य जमिनको खण्डीकरण र बाँझो जमिनको उपयोग, बाढी, पहिरो र प्राकृतिक प्रकोपबाट क्षति न्यूनीकरण, आयातित तरकारी र फलफूलसँग प्रतिस्पर्धा, कृषक–उपभोक्ता आपूर्ति श्रृंखला सुधार, श्रमिक अभाव र युवाहरूको कृषिप्रति आकर्षण घट्नुलाई चुनौतिको रुपमा उल्लेख छ ।

यता, मौसम पूर्वानुमान अनिश्चितताबाट व्यवस्थापन पनि चुनौति रहेको प्रतिवेदनमा उल्लेख छ ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top