३१ असोज, विदुर । नेपाल प्रहरीको ७०औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटको प्राङ्गणमा भूकम्प र आगलागी जस्ता विपद्का घटना हुँदा अपनाउनुपर्ने सुरक्षा सतर्कता र उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ।
विपद् प्रतिकार्य पूर्वतयारी र जनचेतना अभिवृद्धिका लागि जिल्ला प्रशासन कार्यालयको संयोजनमा जिल्लास्थित सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरूको संयुक्त सहभागितामा यो अभ्यास आयोजना गरिएको हो।
भान्सामा हुने सम्भावित आगलागी घटनाको नियन्त्रण र विपदपछिको प्राथमिक उपचारको कृत्रिम दृश्य तयार पारि कृत्रिम घटना अभ्यास गरिएको थियो।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी लगायतका टोलीहरूले तत्काल उद्धार तथा राहत कार्यमा जुट्ने प्रक्रिया प्रदर्शन गरेका थिए। घटना अभ्यासमा विपद्को समयमा घाइते व्यक्तिहरूको तत्काल खोज तथा उद्धार गर्ने, प्राथमिक उपचार गर्ने, सुरक्षित स्थानमा स्थानान्तरण गर्नेलगायतका महत्वपूर्ण सीप र प्रविधिहरू देखाइएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले विपद्को घटना घटेको अवस्थामा कसरी समन्यात्मक र कम क्षतिमा विपद व्यवस्थापन, उद्धार, राहतको साथै त्रुटीरहित ढङ्गले व्यवस्थापनमा तालिम प्राप्त दक्षजनशक्तिहरुलाई अध्यावधिक राख्न कृत्रिम घटना अभ्यास गरिएको बताए ।
कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मी र सेवाग्राहीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया