१६ असार, विदुर । नुवाकोटमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ । जिल्लामा रहेका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमार्फत् चालुआर्थिक वर्ष जेठ मसान्तसम्मको अवधिमा ४६ हजार ६६६ नागरिकले आयुर्वेद सेवा लिएको जनाएको छ ।
चिकित्सालयको दोश्रो अर्धवार्षिक प्रगति विवरणअनुसार बहिरङ्ग, पूर्वकर्म, पञ्चकर्म, अकुपञ्चर, फिजियोथेरापी, प्याथोलोजी ल्याब, अन्तरङ्ग सेवा, ज्येष्ठ नागरिक, स्तनपायी आमा, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलगायतका सेवामार्फत महिला २८ हजार ७०२ र पुरुष १७ हजार ९६४ जनाले आयुर्वेद सेवा लिएको छ।
उक्त सेवा अन्तर्गत मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममा एक हजार ८७ जना, बहिरङ्गमा १४ हजार २८६ जना, पूर्वकर्म सेवामा चार हजार ९४३ जना, प्याथोलोजी ल्याब सेवामा आठ हजार ३१६ जना, नि:शुल्क औषधि बितरणमा १० हजार ५५२ जना र योगमा एक हजार ५७३ जनाले सेवा लिएका छन् ।
औषधिको विविधता तथा परिमाण आवश्यकता भन्दा न्यून मात्र उपलब्ध हुनु, सङ्घीय सशर्त बजेटमा भारी कटौती भएकाले नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा कठिनाई, निजी स्वास्थ्य संस्था नियमन र सबै पालिकाहरु समेटी कार्यक्रमहरु सञ्चालन गर्न नसकिएको चिकित्सलायमा मुख्य समस्याहरु रहेको चिकित्सालयका कार्यालय प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले बताए। चिकित्सलायको सेवा सहजीकरणका लागि औषधि पर्याप्त मात्रामा उपलब्ध गराउनु, स्थानीय सरकारबाट आवश्यक सहयोग हुनुपर्ने, स्थानीय सरकारले आवश्यक कानुन बनाई नियमनमा सहयोग गर्ने र सबै पालिका समेटी कार्यक्रम सञ्चालनका लागि कार्यालयको आफ्नै चारपाङ्ग्रे सवारी साधनको ब्यवस्थापन गर्नुपर्ने उनले सुझाव दिए ।
“चिकित्सालयमा उपचार सेवाका प्रकार बढ्दा सेवा लिनेको सङ्ख्या विगत वर्षहरुमा भन्दा बढेको छ। अन्तरङ्ग सेवा तथा चिकित्सालयको सञ्चालनका लागि सबै निकायहरुबाट आवश्यक सहयोग र समन्वयको अपेक्षा रहेको छ”, उनले भने, “अन्तरङ्ग सेवा सञ्चालनमा चुनौतीपूर्ण रहेको छ । नुवाकोटको तरल राजनैतीक स्थिति काम गर्नका लागि चुनौतीपूर्ण रहेको र अन्य जिल्लामा जस्तो समन्वय सहज भएको छैन ।”




















प्रतिक्रिया