२५ फागुन, काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र हिमालयन बैंकबीच विद्युतीय कारोबार सम्भव बनाउनको लागि साझेदारी भएको छ ।
अब इसेवा प्रयोगकर्ता तथा हिमालयन बैंकका ग्राहकहरुले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्ने भएका छन् । दुवै संस्थाका ग्राहकहरूलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यले गत हप्ता एउटा औपचारिक कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर गरी यस सेवाको प्रारम्भ गरेका हुन् ।
यस साझेदारीपश्चात अब हिमालयन बैंकको ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी सिधै इसेवा वालेटमा रकम लोड गर्न सक्नेछन् भने इसेवा प्रयोगकर्ताहरूले आफ्नो इसेवा वालेटमा भएको रकम हिमालयन बैंकको खातामा ट्रान्सफर गर्न सक्नेछन् ।
इसेवामा हालसम्म ४९ वटा साझेदार बैंक तथा वित्तीय संस्थाहरू आबद्ध छन्, र यसमा हिमालयन बैंक पनि जोडिए पश्चात नेपालको डिजिटल वित्तीय सेवामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले यो सम्झौताले दुवै पक्षका ग्राहकलाई बिना झन्झट आफ्नो बैंक खाता र इसेवा वालेटबीच रकम ट्रान्सफर कार्य गर्न सहज बनाउने उल्लेख गरेका छन् । यस सम्झौताले ग्राहकहरूको अमूल्य समय बचाउनुको साथै डिजिटल कारोबारलाई थप सुरक्षित र प्रभावकारी बनाउने कुरामा समेत उनले जोड दिएका छन् । खड्काले भविष्यमा ग्राहकहरूको हित तथा सहजताका लागि आवश्यकता अनुसार थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया