विज्ञान कर्म हो कर्म गर्नुपर्छ, गरिन्छ त्यो,
परन्तु बुद्धिमानी हो ज्ञानी निष्काम पाउनु
त्यो कर्ममा । छ विज्ञान आफूबाहिर, ज्ञान छ
आफूभित्र, उ टाढा छ, खोजीमा हिँड्नुपर्दछ ।
– बालकृष्ण सम
बालकृष्ण सम (१९५९–२०३८) आधुनिक नेपाली साहित्यको परिष्कारवादी धारामा देखा परेका ख्यातिप्राप्त साहित्यकार हुन् । उनको जन्म पिता समरशम्शेर र माता कीर्ति राज्यलक्ष्मी जङ्गबहादुर राणाको कोखबाट वि.सं. १९५९ माघ २४ गते काठमाडौँको ज्ञानेश्वरमा भएको हो । उनी जन्मँदा देशको प्रधानमन्त्री चन्द्रशम्शेर राणा थिए । राणा परिवारमा जन्मेको हुँदा समका शिक्षा, दीक्षा र लालनपालन राम्रै थियो । बालक कालदेखिनै स्वतन्त्रताको पक्षमा वकालत गर्ने उनको बानी थियो । उनका बाजे डम्बरशम्शेर जबरा सामन्ती संस्कार एवं प्रवृत्तिका थिए । आफ्ना नोकरचाकरलाई कोर्राले हिर्काउँथे । घरमा रहँदा पनि उनका बाजेले कोर्रा लिएर बस्थे । सम हिटलर शैलीका बाजेको प्रवृत्तिप्रति रुष्ट थिए ।
उनीभन्दा १३ महिनाअघि जन्मेका दाजु पुष्करशम्शेर राणा एक हात र एक खुट्टा नचल्ने लुला थिए । अपाङ्गलाई घरपरिवारमा सबैले माया गर्थे । समलाई बाल्य कालमा के लाग्थ्यो भने परिवारबाट माया ममता नपाई आफू अपहेलित भएँ । आफू पनि दाजु जस्तै बिरामी भएको भए सबैले माया गर्थे भन्ने सोच राख्थे । उनी बालक कालमा नै विरक्तिएर एकान्तमा बस्ने, मानसिक चिन्ता र कल्पनाको संसारमा डुब्ने गर्नाले नै साहित्य लेखनमा प्रेरणा मिलेको हुन सक्छ ।
उनले दरबार हाइस्कुलबाट शिक्षा लिने क्रममा मेट्रिक परीक्षा कलकत्ताबाट उत्तीर्ण गरे । किनकि त्यस बेला मेट्रिक परीक्षा नेपालमा हुँदैनथ्यो । त्रिचन्द्र क्याम्पसमा आई.एस्सी.सम्मको अध्ययन गर्दा गर्दै किताब–कापी फ्याली हतियार समाई यिनी आर्मीको कर्णेलसम्म भए । सानो उमेरदेखि नै सम शालीन स्वभावका साथै प्रगतिशील सोच राख्ने हुँदा राणा शासकको आँखामा कसिङ्गर भएका थिए । उनले नेपालमा सात सालको क्रान्तिपछि आफ्नो थरको शेर निकाली सम मात्र लेख्ने गरे ।
यसरी राणाकालमा जन्मेर पनि नेपाली साहित्यमा आठ वर्षको उमेरदेखि लेख्न थालेका सम विशेषतः १९७५–१९९० सम्म अमूर्त रूपमा उपस्थिति थिए ।
साहित्यमा लाग्दै गर्दा आफ्नो विचारलाई प्रवाह गर्न कत्तिको सफल भए वा नभएको भन्ने सन्दर्भलाई यिनको भनाइ– “यसमा यस्तै भयो भन्न म सक्तिनँ, किनभने कवि पूरा स्वतन्त्र भए उनीहरूको काव्य–रचना धेरै उच्च स्तरको हुन्छ । स्वर्गीय देवकोटाज्यूमा हामी यही गुण पाउँछौँ । साहित्यिक जीवनको बिच बाटोमै म मानवताद्वारा नियन्त्रित भएँ । यी त्रुटिहरू हटाउने भरसक प्रयोग गर्न थालेँ, फलस्वरूप म मुक्त हुन पाइनँ । दार्शनिक भएँ–उड्न सकिनँ, राष्ट्रवादी भएँ– घेरा नाघ्न सकिनँ । नतिजास्वरूप हरेक साहित्यिक कृतिमा आफ्नो सिद्धान्त घुसाउन खोजँे–तर कतै सफल भएँ, कतै असफल ।”
वि.सं. २००४ सालमा शारदा पत्रिकामा उनले ‘स्वर्ग र देवता’ शीर्षकको कविता छपाएका थिए । गद्य भाषामा लेखिएको यस कविता १५९ ओटा पङ्क्तिमा रचिएको छ । यसमा १७ पङ्क्ति संस्कृतमा लेखिएको छ । यस कवितामा विश्व मानवतावादी भावना र प्रतीकात्मक शब्द शब्दावलीहरूको प्रयोग गरिएको छ । उनले अध्यात्मवादी पूर्वीय दर्शन र भौतिकवादी पाश्चात्य चिन्तनको संयोजन गरी कविता लेखेका छन् । उनले कवितामा देशभक्ति, मानवतावाद र राष्ट्रियताप्रति कलम चलाएका छन् । परिष्कृत भाषाका प्रयोग गरेर लेखेका समका कविताहरूको मुख्य गुण नै बौद्धिकता हो ।
समले लेखेका अनगिन्ती कवितामध्ये २००१ सालमा प्रकाशित ‘इच्छा’ शीर्षकको कविता ज्यादै लोकप्रिय छ । शार्दूलविक्रीडित छन्दमा चार÷चार हरफे चारओटा श्लोकहरू लेखिएका कविताको भाव देशभक्तिले ओतप्रोत छन् । स्वतन्त्रता र समृद्ध मुलुकको परिकल्पित विषययुक्त यस कवितामा जन्म र मृत्यु नेपालमा नेपालीहरूसँगै होस् भन्ने जाहेर गरिएको छ
इच्छा यो छ महेश ! अन्तिम जसै त्यो मृत्यु शैया जली
मेरो रक्त सुकाउला म गरूँला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटीहरू परून् नेपालकै केवल
जेजेमा हिमशैलको छ मधुरो मिठो चिसो चुम्वन् ।
यो नेपाल स्वतन्त्र भै फुलिरहोस् राजाप्रजामा सधै
झाँगी फैलिरहोस् बढेर लहरा यै शान्ति यै ऐश्वर्यको
यो सन्देश म व्रहनाल तकिया पारी पठाऊँ वहाँ
साक्षी शङ्कर छन् श्मशानपछिका आशा रहेका जहा !
बज्ला मन्दिरमा तथास्तु जब त्यो घण्टा दिदै उत्तर
हाँस्तै, शान्त भई उही समयमा नेपाली हेरी मरूँ,
मेरो लास पबित्र चन्दन घसोस् कात्रो मलाई बनोस्,
नेपाली सुकुमार हातहरूले खस्रा बुनेका लुगा !
नेपाली बनका कपूर तुलसी श्रीखण्डका साथमा
प्यारो सुन्दर आर्यघाटतटको साजा चितामा जलूँ
पाऊँ बस्न मरेर आखिर गई स्वर्गीय त्यै ठाउँमा
नेपालीहरू छन् मरीकन सबै जन्मीरहेका जहाँ ।
समका आगो र पानी (खण्डकाव्य) त्यत्तिकै चर्चायोग्य छ । यस खण्डकाव्यमा इतिहास, ज्ञान विज्ञानको वर्णन गरिएको छ । सृष्टिको सुरुआतदेखि आगो र पानीको उल्लेखनीय भूमिका रहन जान्छ । आगो क्रोध, हिंसा हो भने पानी शान्ति, अहिंसा हो । मनुष्यको चिन्तनमा आगो र पानीले गर्दा नै हिंसा, हत्या, दया, मायाको गहिरो छाप रह्यो । उनले आगोलाई सिकन्दर र पानीलाई बुद्धजस्ता पात्रहरूको संज्ञा दिएका छन् ।
आगो अत्याचार गर्छ,
पानी बेइमानी गर्छ,
मैले साँच्ची भनेको
तिनका कुरै नसुन् !
जङ्गली अगिअगि हिँड्दै
सर्की ठाडे उकालो लाग्यो,
कैयौँ उसकै पछिपछि लागे ।
जतिजति ती माथि चढ्दथे
उतिउति हिमालयका चुचुरा
शिर उचाली अग्लिन्थे ।
भूगोलको भाल नेपाल हिमाल ।
मानवताको मुकुट विशाल !
पाउने व्यथा लाग्दा पृथ्वीको
आँसुले …….. गरेको ….. ल ।
‘स्वर्ग र देवता’ शीर्षकको कवितामा समले धर्तीलाई स्वर्ग र मानवलाई देवताको प्रतीकात्मक शब्दावलीहरूको प्रयोग गरेका छन् । स्वर्गरूपी भूमिमा हिंसा व्याप्त रहेको भाव प्रस्तुत गर्दै शान्ति, मेलमिलाप, सहकार्य, एकता गरेमा मात्र मानव संसारमा सुख समृद्धि आउँछ:
पृथ्वी तिमी चाउरी परेकी छौ, छ्याकटी छौं, उचाहिँ
मखमली आरूको सतह भएकी पोटिली चिल्ली होली
तिम्रो अनुहार कच्याककुचुक छ, उ अत्यन्त राम्री होली
००
भवेम शरदोर्बम् !
भूयसी ः शरदो नन्तात् !
सर्वे सन्ति निरामया !
(स्वर्ग र देवता)
त्यसो त बालकृष्ण समले लेखेका अनगिन्ती कविताहरूमध्ये ‘स्वर्ग र देवता’ लाई उत्कृष्ट रूपमा लिन सकिन्छ । यस कवितामा परिष्कृत–परिमार्जित र प्रयोगधर्मी भाषाशैलीमा विश्व मानवताको अभिव्यक्ति भएका छन् ।
बालकृष्ण समले छोटा कविताका साथै लामो आयामका कविता पनि लेखेका छन् जसलाई खण्डकाव्य र महाकाव्य भनिन्छ । उनले लेखेका खण्डकाव्य धेरै छन् भने महाकाव्य एउटै छ– ‘चिसो चुल्हो’ । खण्डकाव्य र महाकाव्य लेख्दाको सन्दर्भलाई उनी यसरी स्मरण गर्छन्– “मैले सोह्र वर्षको उमेरमा महाकाव्य लेख्नलाई पहिलो कलम चलाएको हुँ, त्यसको नाम ‘एक प्रभात स्मरण’ राखेँ तर त्यो प्रभात जस्तै छोटो भएर रह्यो, फेरि अठार वर्षको उमेरमा ‘आर्यघाट’ नाम दिएर अर्को काव्य प्रारम्भ गरँे, त्यो पनि आर्यघाटको सेरोफेरोभन्दा विशेष फैलिन सकेन, फेरि ‘अवतार दर्शन’ प्रारम्भ गरेँ, त्यसको फैलिने लक्षण थियो, तर एक सर्ग लेखेसकेपछि मेरो दर्शन, सिद्धान्त बदलियो अनि नियमित आकस्मिकता लेखेर विचारको रूपरेखा ठिक पार्न खोजेँ । त्यहँबाट पचपन्न वर्षको उमेरमा यो ‘चिसो चुल्हो’ लेखेको हुँ, यति वर्ष लाएर गुम्स्याको भावना पाठक वर्ग समक्ष खोलेर राखेको छु । मैले यसलाई मोटो पार्न आफूलाई धेरै दुब्लो बनाएको तथ्यलाई पनि म यहाँ प्रकट गर्दछु ।”
‘चिसो चुल्हा’ धेरै ठुलो महाकाव्य हो । यसमा जम्मा बत्तीस सर्गहरू छन् । नेपाली समाजमा व्याप्त गरिबीका कारणले खान नपाई भोकभोकै बस्नुपरेको पीडालाई उजागर गर्ने प्रयास भएको छ । ‘चिसो चुल्हो’ का मुख्य पात्रहरू गौरी र सन्ते हुन् । यी दुई पात्रबिच अस्वाभाविकता र अतिशयोक्तिलाई अँगाल्नु उपयुक्त नरहेको सन्दर्भले नै यो महाकाव्यको धेरै चर्चा रहन गयो । समको प्रेम नै दर्शन भएको सावित भएको छ ।
सन्ते सदैव आँखाले भिक्षा निस्तब्ध भइकन थाप्दथ्यो
अलग्गबाटै आँखाले गौरी नीरव भई भिक्षा दिन्थी
उ के दिन्थी उ के पाउँथ्यो जान्दैनथे त्यो उनीलाई
न रात न दिन त्यो जान्न सक्तथे त जान्दथे त्यो उनीहरू ।
(चिसो चुल्हो)
नेपाली साहित्यमा कविता, निबन्ध, कथा र नाटक जस्ता विधाहरूमा कलम चलाउनुभएका समलाई शीर्षस्थ र सम्मानित रूपमा पु¥याउने विधा नाटक नै हो । सङ्ख्यात्मक र गुणात्मक दृष्टिले उनका नाटकहरूले नेपाली नाट्य साहित्य र सिङ्गो साहित्यको प्रतिनिधित्व गरेका छन् भने कृतिहरूमा सत्–असत्, नीच–उच, अध्यात्म, भौतिक आदिका बिच द्वन्द्व देखाएका छन् । उनका नाटकहरू ऐतिहासिक, पौराणिक र सामाजिक तीन क्षेत्रका विषयवस्तुमा आबद्ध छन् ।
वि.सं. १९७७ मा ‘मिलिन्दा’ नाटक लेखेर नेपाली नाट्य विधामा कलम चलाउन सुरुआत गरेका समले वि.सं. १९८५ मा ‘मुटुको व्यथा’ लेखी नेपाली नाट्य विधामा आधुनिकताको थालनी गराए । यो एक वर्षपछि प्रकाशित भयो । त्यसपछि ध्रुव (१९८६), मुकुन्द इन्दिरा (१९९४), प्रल्हाद (१९९५), अन्धवेग (१९९६), भक्त भानुभक्त (२०००), म (२००२), प्रेमपिण्ड (२०१९), अमरसिंह (२०१०), भीमसेनको अन्त्य (२०१२), तलमाथि (२०२३), तानसेनको झरी (२०२६), बिरामी कुरुवा (२०२७), अमित वासना (२०२७), स्वास्नी मान्छे (२०३३), मोतीराम (२०३३), ऊ मरेकी छैन (२०३५) आदि प्रशस्त नाट्य कृतिले नेपाली साहित्यलाई समृद्धशाली बनाएको छ । यसका अतिरिक्त भतेर, स्वास्नी, महाराज रणदुल्लभ, बोक्सी, राजेन्द्रलक्ष्मी, नालापानीमा, विमान पण्डित, नयाँ प्रण आदि अनेक नाट्य कृतिहरू पनि उल्लेखनीय छन् । समले आफ्नो जीवनकालमा प्रकाशित र अप्रकाशित गरी ३० भन्दा बढी पूर्णाङ्की नाटक र २४ भन्दा बढी एकाङ्की रचना गरेका थिए ।
गद्य, पद्य र गद्यपद्य (चम्पू) तीन प्रकारका शैली प्रयोग गरेका नाटकहरू विषयका दृष्टिले पनि पौराणिक, ऐतिहासिक र सामाजिक छन् । समले पौराणिक विषयवस्तुलाई समेटेर लेखेका नाटक ध्रुव र प्रह्लाद हुन् । उनले ऐतिहासिक विषयवस्तुलाई समेटेर धेरै नाटकहरू लेखे । ऐतिहासिक नाटकहरू भीमसेनको अन्त्य, भक्त भानुभक्त, अमरसिंह, रणदुल्लभ, नालापानीमा र माटोको ममता आदि हुन् । नालापानीमा शीर्षकको नाटकले देशप्रेम झल्काउने काम गरेको छ ।
भतेर, बुहार्तन, तपोभूमि र अत्याधुनिक जस्ता नाटकले नेपाली समाजमा देखा परेका समस्याहरूलाई प्रस्तुत गरेका छन् भने अमित वासना, तलमाथि र बोक्सी जस्ता नाटकले भने मनोविश्लेषणात्मक रूपमा बेजोडले चित्रण गरिएको छ ।
संवाद, अभिनय, रङ्गमञ्च, पात्र तथा चरित्र, उद्देश्य र विषयवस्तुको कलात्मक प्रस्तुति पनि समको नाट्य विशेषता हो । उनले गद्यभन्दा पद्य शैलीमा लेखेका नाटकहरू धेरै छन् । पद्य नाटकमा अधिकांश अन्त्यानुप्रास नभएको वर्ण मात्रिक अनुष्टुप छन्दको प्रयोग गरेका छन् । अङ्ग्रेजी नाटककार विलियम सेक्सपियरले नाटक लेखनीका क्रममा प्रयोग गरेका ब्ल्याङ्कभर्स र बालकृष्ण समका लेखनशैली मिल्दोजुल्दो देखिन्छ । तसर्थ समलाई नेपाली सेक्सपियरको उपनाम पनि दिइन्छ ।
सेक्सपियरको प्रभावबारे उनी यसो भन्छन्– “हैन, मलाई प्रभाव पार्नेमा सेक्सपियर एक जना मात्र हैनन् । विदेशका वाल्ट ह्विटम्यान, डायलन थोमस, इलियट, रवीन्द्रनाथ ठाकुर, बाइरन, होमर, किट्स, सेली, वर्नाड सा, सफोक्लिज, युरिपाइडस्, स्काइलस्, समरमेट माम, इब्सेन, वाल्मीकि, व्यास र स्वदेशका लक्ष्मीप्रसाद देवकोटा मेरा अति प्रिय लेखकहरू हुन् । अनि भानुभक्तको भाषा र लेखनाथको शैली चौपट्टै मन पर्छ । स्वभावतः आफ्ना प्रिय लेखकहरूबाट प्रभावित भएको छु – यिनीहरूबाटै प्रेरणा पाएको छु वेदबाट पनि धेरै प्रभावित भएर आफ्नो कृतिमा ज्यादाजसो अनुप्रासहीन अनुष्टुप छन्दको प्रयोग गर्दछु ।
बालकृष्ण समले लेखेका नाटकमध्ये रणदुल्लभ सफल दुःखान्त एकाङ्की नाटक हो । ऐतिहासिक विषयवस्तुलाई लिएर लेखिएको उक्त नाटकमा गोरखा राज्यका राजा रणदुल्लभ शाहको जीवनको सत्यतामा आधारित घटनाक्रमको सार खिचेको छ । मूलपाठ अनुष्टुप छन्दमा लेखिएको एकाङ्की कविता– नाटकको संज्ञा दिइएको छ । नाटकमा समावेश भएकामध्ये एक संवाद नमुना:
हुन ता माहिलो हो त्यो हुर्केका सातमा पनि,
परन्तु कलिलो ठान्छ त्यसैलाई सधै मन्
मेरो, किनभने लड्छ सधैँ बालक झैँ त्यही,
चोट लाग्ला त्यसैलाई भन्ने जगजगी पनि
त्यसैले लाग्छ– लोट्ला कि त्यो कुनै दिन भुइँमा
फेरी उठ्न नसक्नी भै नराम्रोसित यै कुरा
००
भाइ, खान बिचारी ती ढो¥यालीको कुरा म त
कहिल्यै पनि बिर्सन्नँ– विद्या, बुद्धि, पराक्रम
तीनै तिमीमा देखेर उनले सबको अगि
भने– साक्षत् तिमी नारायणका अवतार रे ।
साहित्य लेखनको दौरानमा बालकृष्ण समले कथा थोरै लेखे । जति लेखे गुणस्तरीयतालाई नै ध्यान दिए । उनले जम्माजम्मी बाह्र थान कथाहरू मात्रै लेखे । ती हुन्– देवराली, यौवन र सुन्दरता, खुकुरी, कैकेयी, हरिसिद्धि, टाँगन घोडा, नौली, तलतल, पराईघर, शरण, रूपको मूल्य र फुकेको बन्धन ।
विशेषतः समले नेपाली समाजमा नारी जीवनका व्यथाहरूलाई उजागर गरेका कथाहरूलाई प्रतीकात्मक, मनोविश्लेषणात्मक, सामाजिक र समस्यामूलक रूपमा विभाजित गरेर हेर्न सकिन्छ ।
त्यस्तै गरी बालकृष्ण समले कवितातर्फ आगो र पानी (खण्डकाव्य २०११), चिसो चुल्हो (महाकाव्य २०१५), बालकृष्ण समका कविता (कवितासङ्ग्रह २०३८) र निबन्धतर्फ नियमित आकस्मिकता (२००५), मेरो कविताको आराधान (चम्पू शैलीको आत्मकथा) को उपासना १–२० (२०२३) र (२०२९) जस्ता कृतिहरू प्रकाशन गरे ।
बालकृष्ण समले नेपाली साहित्यमा लेखनीको क्रममा १९८७ सालतिर दरबार स्कुल र त्रिचन्द्र कलेजमा प्राध्यापनसमेत गरेका थिए । यसपछि उनले नेपाली भाषा प्रकाशिनी समितिका अध्यक्ष (१९९०), रेडियो नेपाल निर्देशक (२००८), गोरखापत्रका सम्पादक (२००२), रोयल नेपाल एकेडेमीका सदस्य (२००४), नेराप्रप्रका उपकुलपति (२०२६), राजसभा स्थायी समितिका सदस्य (२०३०) मा रही कार्यअनुभव बटुले ।
नेपाली भाषा–साहित्य क्षेत्रमा गरेको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई विभिन्न पदक र पुरस्कारबाट पनि सम्मान गरिएको थियो । जस्तैः गोरखा दक्षिणबाहु तेस्रो (१९९९), दोस्रो (२००९), रत्न स्वर्णपदक (२०२३), साझा पुरस्कार (२०२९) र पृथ्वी प्रज्ञा पुरस्कार (२०३५) आदि ।
नेपाली साहित्यका आलोक बालकृष्ण समको मृत्यु वि.सं. २०३८ साउन ६ गते काठमाडौँ पशुपति क्षेत्रको आर्यघाटमा हुन गयो ।
बालकृष्ण समको नाट्यकारिताभित्र अन्तर्निहित राष्ट्रप्रेम, मानवीय प्रवृत्तिहरूको जीवन्त चित्रण, सामाजिक समस्या, मनोवैज्ञानिक विश्लेषण, दर्शनको सूक्ष्मताबाट सबैले आफ्नो व्यवहार परिवर्तन गर्दै जानु नै उनीप्रतिको सच्चा प्रेम हुनेछ ।