विदुर – सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरी नुवाकोटले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ मनाएको छ ।
बुधबार जिल्ला ट्राफिक प्रहरी नुवाकोटद्वारा विदुरमा आयोजित पत्रकार अन्तर्क्रियामा ट्राफिक प्रमुख जेजङ्ग कार्कीले माघ २५ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन भएको सप्ताहमा ट्राफिक नियम तथा दुर्घटनाका कारणको फोटो प्रदर्शनी, प्रभातफेरी, पर्चा वितरण, सार्वजनिक सवारीसाधनको अनुगमन तथा चेकजाँच, यात्रु सुरक्षालगायतका विभिन्न २७ कार्यक्रमका गतिविधिहरु गरी सप्ताह मनाईएको जानकारी दिए ।
साताभर ट्राफिक प्रहरीले जिल्लाका १२ वटै स्थानीय तहका विभिन्न सडक क्षेत्रमा एक सय ७९ जनचेतनामूलक कार्यक्रम गरिएको उनले जानकारी दिए। सडकको अवस्था, सवारी साधनको खराब अवस्था र सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेकाले सडक सुरक्षा तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक सप्ताह गरिएको उनले बताए ।
सप्ताहव्यापी कार्यक्रममा ट्राफिक प्रहरीले विद्यालय सम्पर्क, चालक र परिचालकलाई ट्राफिक ज्ञानको अभिबृद्धि गर्नुका साथै उनीहरूको स्वास्थ्य परिक्षण, सवारीचालक र परिचालकलाई पनि स्वयंसेवकको रुपमा परिचालन गर्ने, जनचेतनामूलक स्टिकर तथा पर्चा पम्पलेट वितरण कार्य गरिएको थियो ।
कार्यक्रममा चालुआर्थिक वर्षको माघ महिनासम्ममा ७९ सडक दुर्घटनामा परी नुवाकोट जिल्लामा १४ जनाको मृत्यु, ३१ जना गम्भीर घाईते र १८२ जना साधारण घाईते भएको जानकारी उनले दिए ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेश सरकारको सहयोगमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको सहकार्य तथा जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको संयुक्त आयोजनामा भएको सप्ताहको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया