नुवाकोट – म्यागङ गाउँपालिकाले छोरीहरुलाई उच्च शिक्षा अध्ययन नै नगराई विवाह गराईदिने प्रवृत्तिलाई निरुत्साहन गर्न एक महत्वपूर्ण निर्णय गरेको छ ।
शनिवार बसेको गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले छोरीलाई २० बर्ष पुरा गरि कम्तीमा १२ कक्षा उत्तिर्ण गराई विवाह गराउने परिवारलाई सम्मान र बधाई स्वरुप नगद १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
उक्त निर्णयले पालिकाको मानव विकास सूचांकमा समेत उल्लेख्य सुधार आउने र छोरीहरुलाई उच्च शिक्षा अध्ययन गराउन अभिभावकहरु उत्प्रेरित हुने गाउँपालिकाको विश्वास रहेको गाउँपालिकाका अध्यक्ष आशा तामाङले बताए।
यसैगरी कार्यपालिका बैठकले आर्थिक बर्ष २०७९/०८० को बैठकबाट कम्तीमा एउटा एम्बुलेन्स खरिद गर्ने निर्णय समेत गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश सिङ्दनले जानकारी दिए ।
यस्तै, कार्यपालिका बैठकले स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार बिभिन्न समितिहरु समेत गठन गरेको छ । गाउँपालिकाका अध्यक्ष तामाङको संयोजकत्वमा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, उपाध्यक्ष सीता तामाङको संयोजकत्वमा बजेट तथा कार्यक्रम तर्जुमा समिति, स्थानीय राजश्व परामर्श समिति र अनुगमन तथा सुपेरीवेक्षण समिति, कार्यपालिका सदस्य हरिकुमार तामाङको संयोजकत्वमा आर्थिम बिकास समिति र कार्यपालिका सदस्य हरिबहादुर तामाङको संयोजकत्वमा सामाजिक बिकास समिति गठन गरिएको छ ।
यस्तै, कार्यपालिका सदस्य जितबहादुर तामाङको संयोजकत्वमा पूर्बाधार बिकास, जीमाबहादुर तामाङको संयोजकत्वमा वन वातावरण तथा बिपद ब्यवस्थापन, सिंहराम घलेको संयोजकत्वमा सुशासन तथा संस्थागत विकास र सन्दविर तामाङको संयोजकत्वमा बिधेयक समिति गठन गरिएको छ ।
प्रतिक्रिया