फँलाटे, नुवाकोट / सुर्यगढ़ी गाउँपालिका-३ मा रहेको भैरवी एकेडेमीका कक्षा ३ मा अध्यनरत छात्रा सोनिया घलेको निमोनियाको कारणले मृत्यु भएको १३ औं पुण्यतिथिमा निमोनिया रोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरेको छ ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल राममणि अधिकारीले सोनियाको असामयिक निधनले विद्यालयले हुनहार विद्यार्थी गुमाएको र विद्यालय स्तब्ध भएको व्यक्त गर्नुभएको छ । निमोनियाको कारणले मृत्यु भएको छात्राको सम्झनामा आगामी दिनहरुमा अरु बालबालिकाले अकालमै ज्यान गुमाउन नपरोस् भनि अभिवाक र विद्यार्थीबीचमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । बालबालिकामा संक्रमण हुने रोगहरुको निर्मुलिकरणको लागि स्थानीयतवरबाट नै हरेक विद्यालयमा रोगको रोकथामको लागि जनचेतनामूलक अभिमुखीकरण कार्यक्रमलाई तदारुकताकासाथ कार्यन्वयनमा ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा बागेश्वरी स्वास्थ्यचौकीका इन्चार्ज मुकेसकुमार यादव र अहेव गीता गैरेले निमोनिया रोग भनेको के हो? रोग लाग्ने तरिका, बच्ने उपायबारे जानकारी दिनुभएको छ । पुरा मात्रामा खोप लगाउने, पोषणयुक्त खानेकुरा खाने र जन्मेको एक घण्टा भित्र नवजात शिशुलाई स्तनपान गराए बालवालिकालाई निमोनियाबाट बचाउन सकिने जानकारी दिईएको छ ।
कार्यक्रममा सुर्यगढ़ी गाउँपालिकाका-३ का वडाध्यक्ष ऋषिबहादुर पौडेल, विनायक माविका प्रध्यानापक ऋषिप्रसाद नेपालले बच्चा जन्माईसकेपछि ५ वर्षसम्मका बालबालिकाको पालनपोषण र स्वास्थ्यमा ध्यान दिनुपर्ने बताउनुभयो ।
यसैबिच कार्यक्रममा बिद्यालय अध्यनरत विद्यार्थीहरुलाई धुवाँधुलो र संक्रमणबाट बच्न मास्क वितरण गरेको छ ।

निमोनिया के हो ?
निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको खराबी हो। जसमा फोक्सोका कोषहरू सुनिन्छन् अनि श्वासप्रश्वासमा बाधा पुग्दछ। ब्याक्टेरिया र भाइरसले निमोनिया गराउँछ। बालबालिकाहरुको मृत्यु गराउने प्रमुख रोगहरु मध्ये निमोनिया मुख्य रोग हो। यसको संक्रमण सबैभन्दा बढी २ वर्षमुनिका साना बालबालिकाहरुलाई हुन्छ र त्यो उमेर समूहमा मृत्युको पहिलो कारक पनि निमोनिया नै हो।
विश्वभर वर्षेनी ५ वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु निमोनियाले गर्दा हुन्छ भने नेपालमा ५ वर्ष मुनिका ३५ लाख वच्चाहरु मध्ये ५६ सय जनाको मृत्यु हुन्छ। मृत्यु हुनेहरु मध्ये ९८% बालबालिकाहरु नेपाल जस्तो कम विकासोन्मुख देशका पर्दछन्। आँखाले देख्न नसकिने सुक्ष्म जिवाणुहरु हो जुन प्रत्येक मानिसको नाक र घाँटीमा हुन्छ तर यी जिवाणुहरु जब फोक्सो भित्र पस्छ यसले संक्रमणले निमोनिया गराउँछ।
सुक्ष्म जिवाणुहरु मध्ये पनि ५०% जति निमो कोकस र हेमो फाइलस ईन्फ्लुयन्जा (हिव.वी)को कारण निमोनिया हुने गर्दछ भने आधा जति अन्य सुक्ष्म जिवाणु, फंगसको कारण हुन्छ ।
सरसफाइको कमी, खाना पकाउँदा, धुम्रपान गर्दाको धुवाँ धुलो र चिसोको वातावरण बढी भएको सबै ठाउँका बालबालिकाहरु र बुढा बुढीहरुमा यसको संक्रमण बढी हुनसक्छ। साथै खोप नपाएका बच्चाहरुमा रोग प्रतिरोध क्षमता विकसित नहुने हुँदा निमोनिया हुने जोखिम रहन्छ।
रोगका लक्षणहरु
- सुरुमा खोकी लाग्ने, नाकबाट सिंगान बग्ने ।
- हल्का ज्वरो आउने साधारण रुघाखोकी लाग्ने ।
- छिटो छिटो सास फेर्ने वा सास फेर्न गाहो हुने ।
- ज्वरो (१०२ भन्दामाथि) आउने ।
- कडा निमोनिया भएमा वच्चा खाना खान र पिउन नसक्ने ।
- सुस्त वा बेहोस हुने ।
- आमाको दूध चुस्न नसक्ने ।
- झोल खानेकुरा खान नसक्ने ।
- कसै कसैमा सास फेर्दा अस्वाभाविक आवाज सुनिने ।
- खाना खाँदा बढी उल्टी गरेमा ।
कसरी गर्ने उपचार?
निमोनियाको उपचार एन्टिवायोटिक र सरल तरिकाबाट गर्न सकिन्छ। शिशुहरुमा विशेषत नवजात शिशुहरुलाई भर्ना गरेर उपचार गर्नु पर्ने हुन्छ। बच्चाले छिटो छिटो श्वास फेरेमा, बच्चाको कोखा हानेमा, बच्चाले झोल खाने कुरा खान नसकेमा, बच्चाले आमाको दूध चुस्न नसकेमा, २ महिना मुनिको बच्चालाई ज्वरो आएमा वा हात खुट्टा शिताङ्ग भएमा, बच्चा ज्यादै कुपोषित भएमा। समयमै उपचार नगरे बिरामीको स्वास्थ्य अत्यन्त बिग्रने हुँदामाथि उल्लेख गरिएका लक्षणहरू देखिने वित्तिकै अस्पताल जानु बुद्धिमानी हुन्छ ।
निमोनिया लग्न नदिने उपायहरु:-
- बच्चालाई धुवा,धुलो,मटितेलको खारबाट जोगाउने।
- बच्चा भएको ठाउमा धुमपान गर्दै नगर्ने।
- जाडो वा गर्मीमा मौसमअनुसारको कपडा लगाइदिने।
- बच्चालाई न्यानो तर हावा आउन जान सक्ने कोठामा राखने।
- बच्चालाई एक वर्षभित्र खोपको मात्रा पुरा गराउने।
- बच्चा जन्मेदेखि ६ महिनासमन आमाको दुध मात्र खुवाउने। त्यसपछि आमाको दुधको साथै पोषिलो र ताजा खाने कुरा खुवाउने।
- बच्चालाई धुलो र फोहर वाताबरणमा खेल्न नदिने।
प्रतिक्रिया