भूकम्पले क्षति पुगेको जिल्ला अस्पतालको भवन शिलान्यास

    बैशाख १२, २०७५

sizen education study in Japan
ananda Jewellery shop

नुवाकोट/तीन वर्षअघि गएको विनाशकारी भूकम्पले क्षति पुगेको जिल्ला अस्पताल त्रिशूलीको आज स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी आर्यालले शिलान्यास गर्नुभयो ।

नुवाकोट, रसुवा, धादिङ लगायतमा सेवा पु-याउँदै आएको उक्त अस्पतालको नयाँ भवन निर्माणले नागरिकको स्वास्थ्य गुणस्तर बनाउने राज्यको लक्ष्य पूरा गर्न सक्षम हुने विश्वास लिएको राज्यमन्त्री अर्यालले बताउनुभयो ।

“भूकम्पले क्षति पुगेका संरचना निर्माण गर्ने सरकारको लक्ष्य अन्तिम चरणा पुगेको छ”, उहाँले भन्नुभयो “अब बनाइने भवन भूकम्पलगायतका विपद् प्रतिरोधी बनाएर सुरक्षित स्वास्थ्य संस्था निर्माण गर्न लागेका छौँ ।”

सरकारले प्रत्येक स्थानीय तहमा एक/एकवटा अस्पताल निर्माण गर्ने योजनासमेत रहेको राज्यमन्त्री अर्यालले भन्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले जिल्ला अस्पताल निर्माणका लागि जग्गाको अभाव भएकाले त्यसको व्यवस्थापनमा आफू सक्रिय रहेको बताउनुभयो ।

भूकम्पले क्षति पुगेको अस्पतालको पुनःनिर्माणका लागि कोरियन सहयोग नियोग (कोइका)मार्फत रु २० करोड लगानीमा निर्माण शुरु गरेको नेपालका लागि कोरियाका राजदूत पार्क योङसीकले जानकारी दिनुभयो ।

पचास श्ययाको जिल्ला अस्पताल विसं २०७६ फागुनसम्म पूरा गर्ने लक्ष्य राखिएको छ । तीन तलाको अस्पतालमा १११ कोठा रहने र विपद् प्रतिरोधात्मक हुने स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालको संरचना भूकम्पले क्षतिग्रत भएपछि जर्मन सहयोग नियोग (जिआइजेड)ले निर्माण गरेको १५ श्यया क्षमताको प्रिफ्याक भवनमार्फत सञ्चालन हुँदै आएको छ ।

यसैबीच सन् २०१५ को महाभूकम्पपछि अपुनर्लाभ तथा पुनर्निर्माण कार्यको अंशको रुपमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला स्वास्थ्य समिति तथा स्वास्थ्य व्यवस्थापन समितिसँगको साझेदारी र कोेइकाको सहायतामा नुवाकोट जिल्लाको बेलकोट नगरपालिकामा निर्माण गरेको स्वास्थ्य चौकीको पनि आज उद्घाटन भएको छ ।

स्वास्थ्य चौकीको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी आर्याल, नेपालका लागि कोरियाका राजदूत पार्क योङसीक र युएनडिपीका राष्ट्रिय उपनिर्देशक सोफिया किमहाड्जे संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।

क्षतिग्रस्त स्वास्थ्यचौकी, सुरक्षित तोडफोड, अवशेष व्यवस्थापन, निर्माण स्थानको तर्जुमा र पुनर्निर्माणको मूल्याङ्कनको आधारमा युएनडिपीले प्राविधिक तथा संचालन सहायता उपलब्ध गराउँदै आएको नुवाकोट जिल्लामा निर्माणधीन १० मध्येको यो एक स्वास्थ्य चौकी हो । स्वास्थ्य चौकीबाट २८ हजारभन्दा बढी जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् ।

बालकोट नगरपालिकामा निर्माण गरिएको आधुनिक, भूकम्प प्रतिरोधात्मक र अपांगमैत्री यस स्वास्थ्यचौकीबाट स्थानीयवासीले साधारण स्वास्थ्य सेवा र प्रजनन सुविधा प्राप्त गर्नेछन् ।

सन् २०१६ सेप्टेम्बर १४ मा नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच भएको सझौताअनुसार सञ्चालन गरिएको नुवाकोट जिल्लामा विपद्पछिको स्वास्थ्य सेवा पुनस्थापना कार्यक्रमको एक मागको रुपमा बालकोटलगायत १० वटा स्वास्थ्य चौकी निर्माण गरिएको हो ।

कोइका लगानी परियोजनाअन्र्तगत ८६ मिलियन अमेरिकी डलर(रु आठ करोड ६० लाख) बाट विदुर नगरपालिकामा ५० शैयाको त्रिशुली अस्पताल भवन र नुवाकोटका विभिन्न गाउँमा १० वटा स्वास्थ्य चौकीको निर्माण गर्न लागिएको हो ।

समुदायको उत्थानशील क्षमता र सही पुनर्निर्माणको लागि सामुदायिक संलग्नता, क्षमता अभिवृद्धी र जीविकोपार्जन सम्बन्धी पुनर्लाभ युएनडिपीको प्राथमिकताका क्षेत्र हुन् । नुवाकोटमा स्वास्थ्यचौकी निर्माणको क्रममा कामको लागि नगदको माध्यमबाट निर्माण स्थान तर्जुमाको क्रममा ६०० भन्दा अधिक संख्यामा स्थानीय समुदायले प्रत्यक्ष सहायता प्राप्त गरेका छन् । उनीहरुले युएनडिपीका तालिमप्राप्त इन्जीनियरबाट सुरक्षित तोडफोड र अवशेष व्यवस्थापनका सम्बन्धमा स्थलगत प्रशिक्षण प्राप्त गरेका थिए । यसको अतिरिक्त ८० भन्दाअधिक स्थानीय मिस्त्रीले प्रकोप उत्थानशील पूनर्निर्माणसम्बन्धी प्रशिक्षण प्राप्त गरेका छन् ।

राष्ट्रिय तहमा पुनर्लाभ र पुनर्निर्माणसम्बन्धी युएनडिपीको विश्वव्यापी तुलनात्मक अनुभवका आधारमा शीघ्र पुनर्लाभ समूहको सह–अध्यक्षको नाताले युएनडिपीले सन् २०१५ को महाभूकम्पपश्चात नेपाल सरकारसँग प्रकोपपछिको पुनर्लाभ र पुनर्निर्माणको क्षेत्रमा सहकार्य जारी राखेको छ ।

युएनडिपीका राष्ट्रिय उपनिर्देशक सोफिया किमहाड्जेले भूकम्प प्रभावित क्षेत्रका समुदायका लागि उत्थानशील निर्माण गर्न स्थानीय समुदायको सहभागिता, क्षमता अभिवृद्धि र जीविकोपार्जनमा सुधारमा जोड दिएको बताउनुभयो ।

नुवाकोट जिल्लामा दिगो विकास र जिल्लाको एकीकृत विकासका लागि विकास सहायताको अंशको रुपमा युएनडिपीले स्थानीय सरकार, विषयगत मन्त्रालय, विकासका साझेदार र स्थानीय समुदायहरुसँग सहकार्य निरन्तर राख्ने योजना लिएको छ । युएनडिपीका अनुसार २०१८ अगष्टसम्ममा सबै १० स्वास्थ्य चौकीको निर्माण सम्पन्न हुनेछन् ।

राजदूत एच.इ. पार्क, योङ—सिक ले कोरिया सरकारले कोइकामार्फत नुवाकोट जिल्लामा विपद्पछिको पुननिर्माण कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले यसबाहेक पनि नेपाल सरकारलाई स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रको साथै मानव संशाधनको क्षमता अभिवृद्धिमा सहयोग गरेको जानकारी दिनुभयो ।

सो अवसरमा कोइकाका राष्ट्रिय निर्देशक डा किम हेयुङ्यो बालकोट र विदुर नगरपालिकाका मेयर, अस्पतालका मेडिकल सुपरीटेण्डेट र त्रिशुली अस्पतालका अध्यक्षले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । (रासस)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top