भदौ ८, विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कुल १ हजार ३ सय ८७ जनाले नागरिकता सम्बन्धी सेवा लिएका छन्।
कार्यालयको विवरण अनुसारमध्ये वंशजका आधारमा ४ सय ८६ जनाले नयाँ नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् भने ८ सय ९९ जनाले नागरिकताको प्रतिलिपि लिएका छन्। यसैगरी, सोही अवधिमा १ जनालाई वैवाहिक अंगीकृत नागरिकता र १ जनालाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिएको छ।
उक्त महिनामा ३२ जना बालबालिकाका लागि नाबालक परिचयपत्र समेत जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यस्तै, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवातर्फ पनि उल्लेख्य चाप देखिएको छ।
सो अवधिमा ७ सय १८ जनाले राहदानीका लागि आवेदन फारम बुझाएका छन् भने ४ सय १० जनालाई राहदानी वितरण गरिएको छ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाबाट २ हजार २ सय ४५ जनाको व्यक्तिगत विवरण (बायोमेट्रिक) सङ्कलन गरिएको छ भने ५ सय १४ जना नागरिकलाई तयार भइसकेको राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ।
विभिन्न सेवा प्रवाह बापत साउन महिनामा जिप्रका नुवाकोटले ३७ लाख ८५ हजार ६० रुपैयाँ राजस्व संकलन गरेको छ। सबैभन्दा ठूलो हिस्सा राहदानी दस्तुरको रहेको छ, जसबाट ३७ लाख ७२ हजार ५ सय रुपैयाँ प्राप्त भएको छ।
यसैगरी हातहतियार इजाजत दस्तुरबाट ९ हजार रुपैयाँ, एजेन्सी रजिष्ट्रेशन दस्तुरबाट ३ हजार ५ सय रुपैयाँ र प्रशासनिक दण्ड जरिवाना बापत १ हजार ६० रुपैयाँ राजस्व दाखिला भएको छ।