+
Search

ताजा अपडेट +

पपुलर +

दुप्चेश्वरमा मातृ-बाल स्वास्थ्य र महिनावारी स्वच्छतासम्बन्धी नीतिगत संवाद

असोजभित्र करेजुङ्ग बर्थिङ सेन्टर पूर्ण सञ्चालन गरिने

सुनील श्रेष्ठ
४९ मिनेट अगाडी

भदौ ९, नुवाकोट । दुप्चेश्वर गाउँपालिकामा मातृ तथा बाल स्वास्थ्य एवं महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी नीतिगत संवाद तथा अन्तरक्रिया कार्यक्रम भएको छ।

कार्यक्रममा गुड नेभर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग, रूडेक नेपालको व्यवस्थापनमा भएको कार्यक्रममा बर्थिङ सेन्टर सञ्चालन, महिनावारी स्वच्छता कर्नर तथा शौचालय र मातृ तथा बाल स्वास्थ्य जस्ता संवेदनशील विषयहरूमा गहन छलफल गरी विभिन्न महत्वपूर्ण निर्णयहरूमा सहमति जुटाइएको छ।

Birthing center at Karejung Maternity Service Center

करेजुङ प्रसुति सेवा केन्द्रमा बर्थिङ सेन्टर

दुप्चेश्वर गाउँपालिकाको करेजुङ प्रसुति सेवा केन्द्रमा बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक एक जना कार्यालय सहयोगीको शीघ्र नियुक्ति गर्ने निर्णय गरिएको अध्यक्ष थापाले जानकारी दिए । यसअघि गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा रुडेक नेपालको व्यवस्थापनमा करेजुङ्ग ग्रामीण स्वास्थ्य एकाइमा स्वास्थ्य सामग्री उपलब्ध गराईएको थियो । आगामी असोज महिनाभित्र बर्थिङ सेन्टरलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी तयारी अघि बढाइएको छ। साथै, उक्त बर्थिङ सेन्टरका लागि आवश्यक फ्रिज लगायतका स्वास्थ्य सामग्रीहरू खरिद भइसकेकाले एक महिनाभित्रै ढुवानी गरी सम्बन्धित स्वास्थ्य एकाइमा पुर्‍याउने सहमति भएको उनले बताए ।

मातृ स्वास्थ्य र महिनावारी स्वच्छता व्यवस्थापन कर्नरको प्रभावकारी सञ्चालनका लागि आवश्यक सूचकहरू निर्माण गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक निरज बडुवालले जानकारी दिए । स्वास्थ्य शाखा, शिक्षा शाखा र जनप्रतिनिधिहरूको संयुक्त टोलीले यसको नियमित अनुगमन र मूल्यांकन गर्ने निर्णय गरेको छ। विद्यालयहरूमा महिनावारी स्वच्छता व्यवस्थापन कर्नरका लागि आवश्यक सामग्रीहरूको व्यवस्थापन पालिका र सम्बन्धित विद्यालय व्यवस्थापन समितिले आपसमा समन्वयमा कार्य गर्ने उनले बताए ।

किशोर-किशोरी र महिलाहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै गुणस्तरीय सेनेटरी प्याडको व्यवस्थापनमा विशेष जोड दिइएको छ। सम्बन्धित निकायहरूले प्याड खरिद गर्दा त्यसको गुणस्तरमा ध्यान दिने र ढुवानी, भण्डारण तथा वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने सहमति भएको छ। प्रयोग भइसकेका प्याडको सुरक्षित र उचित व्यवस्थापनका लागि समेत आवश्यक कदम चालिने निर्णय भएको जनाएको छ।

रुडेक नेपालले स्थानीय धामीझाँक्रीहरूलाई मातृ-शिशुको स्वास्थ्य सुरक्षाहरूबारे विशेष सजगता तथा अभिमुखीकरण तालिम समेत प्रदान गरेका थिए । परम्परागत रूपमा समाजमा रहेका धामीझाँक्रीहरूको प्रत्यक्ष सहयोग र समन्वयमा घरमा गरिने सुत्केरीलाई पूर्ण रूपमा निरुत्साहित गर्दै ‘शून्य घर प्रसूति अवधारणा’ प्रभावकारी रूपमा लागू गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा स्थानीय सरोकारवालाहरू, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा शिक्षकहरूको सहभागिता रहेको थियो।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ