भदौ ७, नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटले जिल्लाभर साङ्गठनिक आधार बलियो बनाउने उद्देश्यका साथ सञ्चालन गरेको ‘मिसन १२ पालिका’ अभियानको पहिलो चरण सम्पन्न गरेको छ।
जिल्लाका १२ वटै स्थानीय तह र ८८ वटै वडामा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरेको कार्यक्रममा पार्टीको एकीकृत, अनुशासित र जिम्मेवार नेतृत्व निर्माण गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको पार्टी सभापति रामेश्वर गजुरेलले जानकारी दिए । अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रत्येक पालिकामा खटाइएको उनले जानकारी दिए ।
कार्यक्रममार्फत कार्यकर्ताहरूलाई पार्टीको वैचारिक धरातल, सङ्गठन सञ्चालनका आधारभूत विधि र अनुशासित राजनीतिक प्रणालीबारे सघन प्रशिक्षण दिइएको उनले जानकारी दिए । वैकल्पिक राजनीतिलाई स्थापित गर्न अनुशासित र सुदृढ सङ्गठन निर्माण गर्नु अपरिहार्य रहेकाले यो अभियान थालिएको उनले बताएका छन्।
पछिल्लो समय नुवाकोटमा साङ्गठनिक गतिविधिमा मात्र सीमित नभई विभिन्न सामाजिक कार्यहरूमा समेत रास्वपा अग्रसर देखिँदै आएको पार्टी उपसभापति कृष्णलाल श्रेष्ठले बताए। यसै प्रशिक्षणका क्रममा स्थानीय जनताबाट प्राप्त गुनासो र समस्याहरूलाई सम्बन्धित निकायमा पुर्याएर द्रुत समाधान खोज्न सबै तहका संयन्त्रहरूलाई पूर्ण रूपमा सक्रिय रहन निर्देशन दिइएको उनले बताए ।
नागरिकका समस्या सङ्कलन र समाधानका लागि मजबुत आधार तयार पार्नु नै यस प्रशिक्षणको मुख्य निष्कर्ष रहेको पार्टी सचिव बसन्त धितालले बताए ।
अभियानमार्फत् पार्टीका नेता तथा कार्यकर्ताहरूलाई दलीय आचारसंहिता, साङ्गठनिक दायित्व, ‘क्यान्डिडेट क्लब’ सम्बन्धी व्यवस्था र विधानका स्पष्ट प्रावधानबारे प्रशिक्षित गराइएको पार्टी सभापति गजुरेलले जानकारी दिए । साथै, नियमित बैठक सञ्चालन गर्ने परिपाटी बसाल्न र सबै वडा तथा पालिकामा पार्टी कार्यालय विस्तार गर्दै जनतासँगको सम्बन्ध थप जीवन्त बनाउन यो अभियानले महत्त्वपूर्ण सिकाइ र जग निर्माण गरेको उनले बताए ।