२०८१, १३ बैशाख बिहीबार

तातोपानीबाट पनि चीनको इन्टरनेट

    बैशाख ७ २०७५ २२:५९

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ, वैशाख ७ गते । नेपाल टेलिकमले तातोपानी नाकाहुँदै चीनसँग क्रसबोर्डर अप्टिकल फाइबर जडान गर्ने भएको छ । यसअघि केरुङ नाका हुँदै चीनसँग अप्टिकल फाइबर जडान भइसकेकोमा कम्पनीले त्यसको विकल्पका रूपमा तातोपानी नाकामार्फत पनि फाइबर विस्तारको तयारी सुरु गरेको हो । तातोपानी हुँदै चीनसँग अप्टिकल जडान गर्न सर्वेक्षणको काम करिब पूरा भइसकेको छ, टेलिकमका प्रबन्धक सङ्गीता पहाडीले भन्नुभयो केही ठाउँमा अलि समस्या देखिएकोले त्यसको समाधानको उपाय खोजिरहेका छौँ । उहाँका अनुसार सिन्धुपाल्चोकको जुरेदेखि तातोपानीतर्फको छ किलोमिटर क्षेत्रमा अप्टिकल विस्तारमा समस्या हुने देखिएको छ ।

टेलिकमले केरुङको भन्दा फरक यसपटक भूमिगत रूपमा फाइबर नबिछ्याइ पोलको प्रयोग गरेर फाइबर जडान गर्ने पहाडीले जानकारी दिनुभयो । हामीले नेपाल विद्युत् प्राधिकरणसँग ट्रान्समिसन लाइन प्रयोगका लागि छलफल पनि गरिरहेका छौँ, उहाँले भन्नुभयो । प्राधिकरणले टेलिकमको प्रस्ताव स्वीकार गरेको अवस्थामा विद्यमान संरचनाबाटै फाइबर सीमासम्म पु¥याइने उहाँले बताउनुभयो । प्राधिकरणको पोल प्रयोग गर्न नसक्ने अवस्थामा टेलिकमले आफै संरचना तयार गरेर भए पनि फाइबर चीनसम्म पु¥याउने योजना बनाएको छ ।
तातोपानी सीमाहुँदै फाइबर जोडिएपछि टेलिकमले त्यहाँबाट पनि चीनतर्फको इन्टरनेट ब्यान्डविथ नेपाल ल्याउन सक्नेछ । टेलिकमलाई यसपटक अघिल्लो साझेदार चाइना टेलिकम्युनिकेसन्सबाहेक अर्को दूरसञ्चार सेवा प्रदायक चाइना युनिकमले पनि फाइबर जडानका लागि व्यावसायिक प्रस्ताव गरेको छ । टेलिकमले भने दुवैको व्यावसायिक प्रस्तावको अध्ययनपछि चीनतर्फको साझेदार टुङ्गो लगाउने जनाएको छ ।

भौगोलिक विषमताका कारण टेलिकमले केरुङ सीमाबाहेक चीनसँग अर्को वैकल्पिक रुटमा पनि पूर्वाधार विस्तार गर्ने योजना बनाएको थियो । सोही अनुसार नै तातोपानी नाका छनोट गरेर सर्वेक्षण गरिएको पहाडीले जानकारी दिनुभयो । विकल्प हुँदा त्यसले सेवा प्रवाह थप विश्वसनीय पनि हुन्छ, उहाँले भन्नुभयो । नेपालले केरुङ नाकाहुँदै फाइबर जोडिनुअघि इन्टरनेट ब्यान्डविथ खरिदका लागि भारतसँग मात्र निर्भर रहनुपर्ने बाध्यता थियो । नेपालले भारतसँग सीमा जोडिएका भैरहवा, वीरगञ्ज र विराटनगरबाट क्रसबोर्डर फाइबर जडान गरी ब्यान्डविथ खरिद गरिरहेको छ । तातोपानी नाकाहुँदै चीनसँग अप्टिकल फाइबर जडान भएपछि केरुङतर्फ कुनै समस्या आए पनि त्यसले ठूलो असर नपार्ने टेलिकमले जनाएको छ ।

गत पुस २८ गते टेलिकमले केरुङ नाकाबाट फाइबर जोडिएको दुई वर्षपछि चीनतर्फको इन्टरनेटको व्यावसायिक प्रयोग सुरु गरेको थियो । चीनबाट प्राप्त ब्याण्डविथ क्षमता हाल १.५ जीबी प्रतिसेकेन्ड रहेको छ । तातोपानीबाट पनि फाइबर जोडिएपछि यस्तो क्षमता थप बढ्ने र इन्टरनेटको गतिमा पनि सुधार हुने टेलिकमको दाबी छ । -गोरखापत्रबाट

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top