कात्तिक १८, नुवाकोट । बाढीबाट प्रभावित परिवारको राहत, आवास तथा पुनःस्थापनामा सहयोग पुर्याउन तारकेश्वर गाउँपालिकाको समन्वयमा नेपाल रेडक्रस सोसाइटीले विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ।
बाढीपीडित समुदायको तत्काल मानवीय आवश्यकता सम्बोधन गर्दै दीर्घकालीन पुनःस्थापनालाई समेत लक्षित गरी नेपाल रेडक्रस सोसाइटी र तारकेश्वर गाउँपालिकाबीच विस्तृत सम्झौता भएको छ।
सम्झौतापत्रमा गाउँपालिका अध्यक्ष शिव अधिकारी र नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सभापति हरि श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बाढीका कारण परिवारका सदस्य गुमाएका एकल महिला, अभिभावकविहीन बालबालिका तथा ज्येष्ठ नागरिक रहेको परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिनेछ। साथै प्रभावित घरधुरीलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराइनेछ।
त्यसैगरी, स्थायी आवासको व्यवस्था नहुँदासम्म १०० घरधुरीलाई घरभाडा सहायता, ६० घरधुरीलाई अस्थायी आवास सहयोग तथा ३०० परिवारलाई जीविकोपार्जन पुनःस्थापना सहायता उपलब्ध गराइने सम्झौतामा उल्लेख गरिएको छ।