२६ चैत, विदुर । जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा जिल्लामा रहेका स्थानीयतह र विकास निर्माण सम्बद्ध कार्यालयहरूको चालुआर्थिक वर्ष २०८२/८३ को दोस्रो अर्धवार्षिक समिक्षा गोष्ठी विदुरमा भएको छ ।
कार्यक्रमको बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले पुँजीगत खर्च बढी गर्न सके विकास निर्माण कार्य हुने बताए। तिनै तहको सरकार अझै स्पष्ट रुपमा देखिएको छैन। नीतिगत र कानुन बन्दै गर्दा आआफ्नो क्षेत्राधिकार देखिदैन । काम गर्दै जाँदा मेटिदै गईएको प्रगति देखिरहेको बताए ।
प्रमुख ठकुरीले चालुआर्थिक वर्षको कार्यसम्पादनको स्थिति र भावी कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले नियमित कार्यतालिका अनुरुप कार्यक्रम आयोजना गरिएको बताए । उनले तीन तहको सरकार हुदाँ कार्यान्वनमा समस्या रहेको बताउँदै सबैले इमान्दारिता, अनुशासनमा रहेर कार्य गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, म्यागङ गाउँपालिकाका उपाध्यक्ष सीता तामाङ, राजनैतिक दलका प्रतिनिधिलगायतले गाउँपालिका र कार्यालयहरुले गरेको कार्यसम्पादनको बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी विष्णुप्रसाद पौडेलले जिल्लाका १२ वटै स्थानीय तह र कार्यालयहरुको काम, क्रियाकलाप र जिम्मेवारी, कार्यसम्पादनको अवस्था र गुणस्तर लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए ।