१ मङ्सिर, नुवाकोट । तीनदिने नि:शुल्क प्लाष्टिक शल्यक्रिया शिविरबाट २१४ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
गत कात्तिक २९ गतेदेखि आजसम्म त्रिशूली अस्पतालमा भएको शिविरमा २१४ जनाले स्वास्थ्य सेवा लिएकोमा ५० जना बिरामीको नि:शुल्क प्लाष्टिक शल्यक्रिया गरिएको सुष्मा कोइराला मेमोरियल अस्पतालका मेडिकल निर्देशक तथा प्लास्टिक सर्जन डा. सन्तोषविक्रम भण्डारीले जानकारी दिए । शिविरमा उपचार गरिएका जटिल र थप उपचार आवश्यक रहेका बिरामीहरुको लागि ६९ जनालाई नि:शुल्क प्लाष्टिक शल्यक्रियाको लागि आयोजक अस्पताल काठमाडौंमा पठाईएको उनले जानकारी दिए ।
“नागरिकहरुमा स्वास्थ्य सचतेना, आधुनिक जीवनशैलीलगायतको कारण जलन, दुर्घटना, जन्मजात विकृति तथा क्यान्सरसम्बन्धी जटिल अवस्था बिरामीहरु नुवाकोटका कमी देखिएकोमा खुशी छु”, डा. भण्डारीले भने।
करिब १० वर्षपछि नुवाकोट जिल्ला सञ्चालन गरिएको शिविरमा एकमहिने जन्मजात शिशुदेखि ८२ बर्षिय वृद्धले स्वास्थ्य सेवा लिएको लायन्स क्लब अफ नुवाकोट त्रिशूलीका पूर्वअध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।
विदुर नगरपालिका, त्रिशुली अस्पताल, लायन्स क्लब अफ नुवाकोट त्रिशूली र सुष्मा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नि:शुल्क प्लाष्टिक शल्यक्रिया शिविर सञ्चालन भएको थियो ।
तीनदिन सम्म सञ्चालन भएको शिविरमा त्रिशूली अस्पतालका चिकित्सक र विदुर नगरपालिकाका स्वास्थ्यकर्मीहरुले सहजीकरण गरेका थिए।

प्रतिक्रिया