असोज ३१, नुवाकोट । आज विक्रम संवत् २०८३ साल असोज ३१ गते शनिबार भए पनि धेरैजसो नेपाली समाचार पोर्टलका वेबसाइटमा कार्तिक १ गते देखिएको छ।
केही पोर्टलबाहेक अधिकांश वेबसाइटमा मिति गलत देखिन थालेपछि पाठकहरूमा अन्योल बढेको छ। आधिकारिक नेपाली पात्रो र विश्वसनीय मिति रूपान्तरण उपकरणअनुसार आज असोज महिनाको अन्तिम दिन अर्थात् ३१ गते हो। कार्तिक १ गते भने भोलि आइतबारबाट सुरु हुनेछ।
यो समस्या विशेष गरी वर्डप्रेसमा आधारित वेबसाइटहरूमा देखिएको छ। धेरै पोर्टलले नेपाली मिति देखाउन ‘कस्टम प्लगिन’ वा आफैंले तयार पारेको स्क्रिप्ट प्रयोग गर्छन्। यस्ता प्लगिनमा महिनाका दिन संख्या गलत तरिकाले निर्धारण गरिएको वा पुरानो ‘एल्गोरिदम’ प्रयोग भएको हुँदा असोजजस्तो ३१ दिनको महिनामा त्रुटि देखिने गरेको छ।
नेपाली पात्रोमा महिनाका दिन २९ देखि ३२ सम्म फरक-फरक हुन्छन्। यस वर्ष असोज महिना ३१ दिनको रहेको छ। तर केही ‘प्लगिन’ले यसलाई ३० दिन मात्र मानेर अर्को दिन कार्तिक १ देखाउन थालेका हुन्।
सरकारी वेबसाइट, गोरखापत्र, अनलाईन खबर र अन्य विश्वसनीय मिडियाले सही रूपमा असोज ३१ गते नै देखाएका छन्।
प्रविधि विज्ञहरूका अनुसार यस्ता त्रुटि रोक्न ‘पोर्टल’ सञ्चालकहरूले ‘प्लगिन अपडेट’ गर्नुपर्छ वा भरपर्दो मिति रूपान्तरण स्रोत प्रयोग गर्नुपर्छ। पाठकहरूले पनि आधिकारिक पात्रो हेरेर मिति पुष्टि गर्न सक्छन्।