+
Search

ताजा अपडेट +

पपुलर +

रेडक्रसले भोटेकोशी बाढीका बेपत्ता र मृतक परिवारलाई एक लाख सहयोग गर्ने

डबली खबर
१ घण्टा अगाडी

असोज २१, काठमाडौँ । भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीमा ज्यान गुमाएका र बेपत्ता भएका परिवारलाई नेपाल रेडक्रस सोसाइटीले प्रतिपरिवार एक लाख रुपैयाँ नगद सहायता दिने भएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीबीच आज मन्त्रालयमा समुन्नति कार्यक्रमअन्तर्गत सम्झौता भएको हो।

मन्त्री सिता वादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र रेडक्रसका अध्यक्ष डा. विशालकुमार भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा रेडक्रसका महामन्त्री ऋषिरमण खनाल र अन्तर्राष्ट्रिय महासंघ नेपाल प्रमुख डेभिड फिसर पनि उपस्थित थिए ।

सम्झौताअनुसार रेडक्रसले बाढीबाट प्रभावित लक्षित परिवारलाई प्रतिपरिवार रु. एक लाखका दरले सहायता उपलब्ध गराउनेछ। बाढीमा प्रियजन गुमाएका र अझै बेपत्ता रहेका परिवारको तत्कालीन आवश्यकता पूरा गर्न, जीवनयापन सहज बनाउन तथा पुनर्लाभ र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले यो सहायता दिइने हो।

बाढीबाट प्रभावित झण्डै ६ हजार परिवार रहेको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट तथ्यांक लिई आवश्यक प्रमाणीकरणपछि लाभग्राही पहिचान गरिनेछ। रकम सिधै उनीहरूको बैंक खातामा जम्मा गरिने भएकाले वितरण प्रक्रिया सहज, पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

परिवारले यो रकम आफ्नो प्राथमिकताअनुसार खाद्यान्न, कपडा, स्वास्थ्य, सरसफाइ, घरायसी सामग्री, यातायात, सञ्चार वा जीविकोपार्जनका काममा प्रयोग गर्न सक्नेछन्। विशेष जोखिममा रहेका महिला नेतृत्व भएका परिवार, अपाङ्गता भएका व्यक्ति, हेरचाह आवश्यक पर्ने बालबालिका, ज्येष्ठ नागरिक, सीमान्तकृत समुदाय र लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई प्राथमिकता दिइनेछ।

मन्त्रालयले नीतिगत निर्देशन, अनुगमन र समन्वय गर्नेछ भने स्थानीय तहले लाभग्राही पहिचान र प्रमाणीकरणमा सहयोग पु¥याउनेछ। रेडक्रसले वितरण, समुदायसँग समन्वय र जवाफदेहितासम्बन्धी काम गर्नेछ।

समुन्नति कार्यक्रमले विपद् प्रभावितसहित विशेष आवश्यकता र जोखिममा रहेका व्यक्ति तथा परिवारलाई सहयोग गर्ने लक्ष्य राखेको छ। बाढीले धेरै परिवारमा अपूरणीय क्षति पु¥याएको बेला यो सहयोगले उनीहरूलाई केही राहत मिल्ने विश्वास गरिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ