+
Search

ताजा अपडेट +

पपुलर +

डिजिटल सोलुसनद्वारा निःशुल्क एआई तालिम, मङ्सिर २० सम्म दर्ता गर्न सकिने

डबली खबर
१ मिनेट अगाडी

मङ्सिर ४, नुवाकोट । डिजिटल सोलुसनले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा ४४ हजार ४४४ जनालाई निःशुल्क अनलाइन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम दिने भएको छ।

‘सबैका लागि एआई’ नाम दिइएको यस अभियानमा सहभागी हुन मंसिर २० गतेसम्म अनलाइन दर्ता गर्न सकिनेछ।

कम्पनीका संस्थापक तथा एआई प्रशिक्षक रबिन पौडेलका अनुसार चार वर्ष पूरा भएको अवसरमा एआई सम्बन्धी ज्ञान र सीप आम नेपालीसम्म पुर्‍याउने उद्देश्यले यो तालिम सञ्चालन गर्न लागेको हो।

तालिम विशेष गरी विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी, उद्यमी र सर्वसाधारणलाई लक्षित छ। एआई सिक्न प्रोग्रामिङ वा अन्य प्राविधिक ज्ञान आवश्यक पर्दैन। सहभागीले एआईको आधारभूत जानकारीदेखि पढाइ, काम, व्यवसाय र दैनिक जीवनमा यसको प्रयोग कसरी गर्ने भन्ने सिक्न पाउनेछन्।

चार दिनको पाठ्यक्रममा च्याटजीपीटी, गुगल जेमिनी र क्लाउडजस्ता एआई टुल प्रयोग गर्ने तरिका सिकाइनेछ। सही निर्देशन दिने, अध्ययन तथा अनुसन्धान गर्ने, कागजात र प्रस्तुतीकरण तयार गर्ने, फोटो तथा ग्राफिक्स बनाउने र भिडियो सामग्री तयार गर्ने सीप पनि समेटिनेछ। एआई एजेन्टको परिचय र दैनिक काममा यसको प्रयोगबारे पनि जानकारी दिइनेछ।

सहभागीले आफ्नो सुविधाअनुसार प्रत्यक्ष वा रेकर्ड गरिएका कक्षामार्फत् तालिम लिन सक्नेछन्। दर्ता गर्दा नै विकल्प छनोट गर्नुपर्नेछ। पेशागत पृष्ठभूमि उल्लेख गर्नुपर्ने हुँदा विद्यार्थी, शिक्षक, कर्मचारी र व्यवसायीका लागि छुट्टाछुट्टै सिकाइ सामग्री उपलब्ध गराइनेछ।

तालिम सुरु भएको मितिदेखि ९० दिनभित्र तोकिएको पाठ्यक्रम, अभ्यास कार्य र मूल्यांकन पूरा गर्नुपर्नेछ। प्रमाणपत्रका लागि मूल्यांकनमा कम्तीमा ४० प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ। कम्पनीको लक्ष्य उक्त संख्यामा तालिम पूरा गराई प्रमाणपत्र प्रदान गर्नु हो।

मंसिर १ गतेदेखि खुला गरिएको दर्ता मंसिर २० गतेसम्म निःशुल्क छ। इच्छुकले नाम, इमेल, मोबाइल नम्बर, पेशा र कक्षा विकल्पसहित दर्ता गर्न सक्नेछन्। दर्तापछि प्राप्त रजिष्ट्रेशन आईडी, इमेल र मोबाइल नम्बर सुरक्षित राख्न अनुरोध गरिएको छ।

मंसिर २१ गते तालिम सञ्चालन तरिका, प्लेटफर्म र सहभागिता प्रक्रियाबारे थप जानकारी सार्वजनिक हुनेछ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ